सार्वजनिक यातायातले दिनुपर्ने छुट पूर्ण रूपमा कार्यान्वयन हुन्छः प्रमुख जिल्ला अधिकारी खरेल

  ०८० चैत २० गते

बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले सार्वजनिक यातायातले कानुनले तोके बमोजिम दिनुपर्ने छुट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीले सार्वजनिक यातायातमा यात्रा गर्दा पाउने छुट सुविधालाई पूर्ण रूपमा कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी खरेलले बताउनुभएको हो ।

बर्दियाबाट सञ्चालित लामा तथा छोटा दुरीका सार्वजनिक सवारी साधनले आरक्षण कोटा अनुसारको सार्वजनिक सवारी साधनमा यात्रा गर्दा लाग्ने भाडामा छुट दिनुपर्ने हुन्छ । तर, बर्दियामा सञ्चालनमा रहेका सवारी साधनले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई दिनुपर्ने छुट दिने गरेको पाइँदैन ।

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई छुट दिने भने तापनी बर्दियामा सो नियमको कार्यान्वयन हुन सकेको छैन । सरकार ऐन, नियमावली, कार्यविधि बनाएर अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई सवारी साधनमा लाग्ने भाडामा ५० प्रतिशत र विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने भनेको छ । तर बर्दियामा सो ऐन, नियमावली तथा कार्यविधिको कार्यान्वयन हुन सकेको छैन । जसका कारण अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थी राज्यले दिएको सुविधाबाट समेत वञ्चित हुनु परेको छ ।

प्रमुख जिल्ला अधिकारी खरेलले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई प्रचलित कानुन बमोजिमको छुट सुविधा दिनका लागि सम्बन्धित यातायात व्यवसायी र ट्राफिक प्रहरीद्वारा चेकजाँचलाई कडाइ गरी प्रभावकारी बनाउँदै लगिने बताउनु भयो ।

गुलरिया नगरपालिका-६ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता सुधांसुप्रकाश शर्माले सार्वजनिक यातायातमा यात्रा गरिरहेका ज्येष्ठ नागरिक, अपाङ्ग तथा विद्यार्थीहरूले बसमा चढ्दा पाउनुपर्ने सुविधा राज्यले निर्धारित गरे अनुसारको छुट पाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यात्रा गरिरहेका व्यक्तिहरूलाई आफूले पाउनुपर्ने सुविधाका विषयमा जानकारी नहुनु, बस व्यवसायीहरूले पनि त्यस्ता विषयहरूमा यात्रुहरूलाई जानकारी नगराउनु, बस व्यवसायमा संलग्न व्यक्तिहरूको शैक्षिक स्तर कम हुनु र उनीहरूले यात्रुहरूलाई सकेसम्म छुट दिन नचाहने भएकोले पनि अपाङ्ग, ज्येष्ठ नागरिक र विद्यार्थीहरू छुट पाउनुपर्ने अधिकारबाट वञ्चित हुन परेको छ ।’

बबई क्याम्पसमा स्ववियु अध्यक्ष लक्ष्मण भण्डारीले बर्दियामा चल्ने सार्वजनिक सवारी साधनले विद्यार्थीलाई छुट नदिने गरेको बताउनु भयो । उहाँले पटक पटक विद्यार्थीलाई छुट सवारी साधनमा छुट पाउनुपर्ने विषयमा सरोकारवाला निकायको ध्यान आर्कषण गर्दा समेत सुनुवाइ नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी परिचय पत्रको आधारमा सवारी साधनमा लाग्ने भाडादरको ४५ प्रतिशत छुट पाउने विद्यार्थीको अधिकार हो । तर त्यो अधिकारको प्रयोग गर्नबाट बर्दियाका विद्यार्थीहरू वञ्चित हुनु परेको छ ।’

त्यसैगरी बर्दिया नेत्रहीन सङ्घ सचिव प्रेमप्रसाद अधिकारीले नेपाल सरकारले तोके अनुसार अपाङ्गता भएको व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा छुट नदिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, 'जाने बुझेका केही व्यक्तिले कानुन अनुसार छुट भन्ने कुरा राखेका थोरै मात्र छुट पाउँछन् । त्यसको साथै काउन्टरमा कार्यरत कर्मचारीलाई मन परे दुई/चार सय छुट दिएर उम्किन खोजेको पाइन्छ ।’

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ मा सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त, मध्यम अपाङ्गताका भएका व्यक्तिलाई परिचय पत्रको आधारमा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा लाग्ने भाडामा ५० प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ भने ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकको लागि कम्तिमा दुई ओटा सुरक्षितमा ६० वर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकलाई राख्नु पर्ने र निजलाई यात्रु भाडादरमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने कानुनी व्यवस्था रहे पनि बर्दियाका अधिकांश उपभोक्ताहरू उक्त अधिकारबाट वञ्चित हुनु परेको छ ।


प्रकाश पौडेल