सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ १० गते

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दररहैँचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन भनिने हिमबहादुर श्रेष्ठ र २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठलाई माघ ८ गते गिरफ्तार गरेको छ ।

पीडित माघ ७ गते सुनसरीको इटहरीबाट मोरङको गछियास्थित बहिनीको घरतर्फ गईरहेको अवस्थामा आरोपितहरूले गन्तव्यसम्म पुर्‍याइ दिने आश्वासनमा झुक्यानमा पारी सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमिलि लजमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

घटनामा चार जनाको संलग्नता देखिएको भएपनि अन्य दुई जनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी मुकारुङले बताउनु भयो ।

डिएसपी मुकारुङले इन्सेकर्मीसँगको फोन सम्पर्कमा घटनामा संलग्न भएको आशङ्कामा झापा घर भएका रामबहादुर नेपाली र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठको बारेमा खोजी तथा अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितकी बहिनीले दिदी माघ ७ गते साँझबाट सम्पर्कविहीन भएर माघ ८ गते बिहान ८ बजेमात्र टेलिफोन सम्पर्कमा आएको बताउनु भयो ।

पीडितले माघ ८ गते घटनाका बारेमा जानकारी गराएपछि आफूले प्रहरीलाई खबर गरेको पीडितकी बहिनीको भनाइ छ ।

पीडितको माघ ८ गतेदेखि कोशी अस्पतालमा उपचार भइरहेको छ ।

कोशी अस्पतालकी डाक्टर रीभा केसीले सामूहिक बलात्कार घटनामा पीडित भएकी महिलाको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । डाक्टर रीभा केसीका अनुसार पीडितको यौनाङ्गमा क्षति पुग्नुका साथै अत्यधिक रक्तस्राव भएको छ ।

बहिनीको घर पुर्‍याइ दिने आश्वासन दिने अर्जुन र सुरज भन्नेले दिएको खानेकुरा खाएपछि आफू अचेत भएको पीडितको भनाइ छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर