सामूहिक बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७९ चैत २० गते

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले इलाम जिल्ला, माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुर जिल्ला, षडानन्द नगरपालिका–७ का २७ वर्षीय अनन्त लिम्बूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद र सामूहिक बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट जनही ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदार पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको स्रेस्तेदार  गौतमले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ वैशाख ३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले वैशाख ३० गते तुम्लीङटारबाट गिरफ्तार गरी जिल्ला अदालतमा भदौ ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको वैशाख ३१ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ वैशाख १० गते गरिएको थियो ।


भविन कार्की