सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै, पठनपाठन प्रभावकारी नभएको अभिभावकको गुनासो

  ०७९ असोज ९ गते

शारदा नपा–३ स्थित खड्गदेवी प्राविमा जम्मा पाँच जना विद्यार्थी मात्रै अध्यनरत रहेका छन् । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयमा जम्मा पाँच जना विद्यार्थी अध्यनरत रहेको विद्यालयले जनाएको छ ।

वि.स. १९९८ तिर भाषा पाठशालाको रुपमा जिल्लाको सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय परिसर नजिकै सञ्चालित खड्गदेवी प्रावि जिल्लाकै सबैभन्दा पहिलो विद्यालय हो । खड्गदेवी मन्दिरको प्राङ्गणमा भएकाले मन्दिरकै नामबाट विद्यालयको नाम राखिएको थियो ।

विगतमा धेरै जनशक्ति उत्पादन गरेको विद्यालय अहिले सम्बन्धित निकायको बेवास्ताका कारण बेवारिसे जस्तै बनेको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयमा कुनै बेला २ सयभन्दा बढी विद्यार्थी हुने गर्दथे । अहिले जम्मा पाँच जनामात्रै रहेका छन् ।

यस विद्यालयमा पठनपाठन व्यवस्थित गर्न पटकपटक पहल गर्दै आएपनि शिक्षकहरूको लापरबाहीका कारण पठनपाठनमा सुधार आउन नसकेको स्थानीयले आरोप लगाएका छन् । शिक्षकको लापरबाहीकै कारण विद्यार्थी घटेर अहिले दुईचार जनामा सीमित भएको एक स्थानीयले बताए ।

यस्तै कालिमाटी गाउँपालिका–६ आम्बासस्थित प्राथमिक विद्यालयमा पनि यस्तै समस्या देखिएको छ । उक्त विद्यालय वि.स. २०६४ सालमा स्थापना भएको थियो ।

दुई वर्षअघिसम्म ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा अहिले चार जनामात्रै विद्यार्थी छन् । तिनीहरू पनि नियमित उपस्थित हुन छाडेका छन् ।

विद्यालयमा गएर पढाउनुको साटो आफ्नो कामकाजमा अन्यत्र घुमिरहने र तलब पकाउन एकै पटक आएर हाजिरी गर्ने जस्ता कार्यले गर्दा प्रावि तहमा शैक्षिक अवस्था कमजोर भएकाले कालिमाटी क्षेत्रका धेरै बालबालिकालाई अभिभावकले आफुसँगै बाहिर लगेर पढाउने गरेको स्थानीय हेमन्तबहादुर खड्काले आरोप लगाउनुभयो ।

जबसम्म सम्बन्धित निकायले लापरबाही गर्ने शिक्षकप्रति कडा निगरानी गर्दैन र लापरबाही गर्नेलाई कारबाही गर्न सक्दैन तबसम्म विद्यालयको शैक्षिक स्तर सुधार हुन नसक्ने र विद्यार्थी संख्या समेत नबढ्ने उहाँको भनाई छ । पछिल्लो समयमा शिक्षकहरू विद्यालयमा पढाउनेभन्दा राजनीति गर्नमै व्यस्त देखिने गरेको उहाँको आरोप रहेको छ ।

शिक्षकहरूले पठनपाठनमा गरेको बेवास्ताका कारण असन्तुष्ट अभिभावकले आफ्ना बालबालिकालाई निजीतिर लैजाने, ग्रामिण क्षेत्रका अभिभावकहरू सुविधा खोज्दै परिवारसहित शहरी क्षेत्रमा केन्द्रित हुने र कोही मजदुरीका लागि छोराछोरीसहित भारतका विभिन्न ठाँउमा जाने क्रम नरोकिँदा प्रावि तहमा विद्यार्थी संख्या घट्दै गएको स्थानीय नोट बहादुर बुढाथोकीको भनाई छ ।

प्रावि तह बालबालिकाको शिक्षाको जग भन्दै सरकारले शैक्षिक गुणस्तर तथा विद्यार्थी संख्या बढाउन दिवा खाजा कार्यक्रम, छात्रवृत्तिको व्यवस्था, निःशल्क पाठ्यपुस्तक, अग्रेजी माध्यमबाट पठनपाठन, भौतिक संरचना निर्माण, बसाइ व्यवस्थापनलगायत विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आए पनि जिल्लाका प्राथमिक विद्यालयमा भने विद्यार्थीको संख्या बढ्नुको साटो दिनानुदिन घट्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

बनगाड कुपिण्डे नगरपालिका–९ गिठाचौरका एक स्थानीय बिमलाकुमारी रानाले शिक्षक नियमित विद्यालय नआउँदा दुई÷तीन कक्षा पढ्ने आफ्ना नानीबाबुले नेपाली अक्षरसमेत नचिन्ने भएकाले बालबालिकालाई निजी विद्यालयमा लगेर पढाउँदै आएको बताउनुभयो ।

उहाँका अनुसार विद्यालयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि कुनै चासो नदिएपछि अभिभावकहरू निजी विद्यालयमा आफ्ना बालबालिका पढाउन बाध्य भएका हुन् । ‘आफ्ना बालबालिकाले पछि गएर राम्रो ठाउँमा जागिर खालान भन्ने सपना देखेर पढाउने हो

उहाँले भन्नुभयो, दुई/तीन वर्षसम्म एउटै कक्षामा थन्किने र अक्षर समेत चिन्न नसक्ने भएपछि किन त्यस्ता विद्यालयमा पढाउने ?
जबसम्म शिक्षकमा मेरो कर्तव्य भनेको पढाउने हो, मैले बिदाको दिन बाहेक अन्य दिनमा विद्यालयमा गएर पढाउनुपर्छ भन्ने चेतनाको विकास हुँदैन तबसम्म शैक्षिक अवस्थामा सुधार हुन सक्दैन, उहाँले भन्नुभयो ।

जिल्लामा कक्षा १ देखि ५ सम्म २ सय ७९, कक्षा १ देखि ८ सम्म ८१, कक्षा १ देखि १० सम्म ५४ र कक्षा १ देखि १२ सम्म ३३ गरी ४ सय ३७ सामुदायिक विद्यालय छन् । केही वर्ष अघिसम्म १ देखि ५ सम्म ४० हजार भन्दा बढी विद्यार्थी रहेकोमा सो संख्या घटेर अहिले ३१ हजारमा झरेको छ । विद्यार्थी संख्या घट्दै गएका कारण एक दर्जनभन्दा बढी विद्यालय मर्ज भइसकेका छन भने आधा दर्जन जति विद्यालय मर्ज हुने अवस्थामा रहेको शिक्षा समन्वय इकाइ कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिकाभित्रका ५८ सामुदायिक विद्यालयमध्ये १२ प्राविमा विद्यार्थी संख्या कम रहेको, केही वर्षअघि तीनवटा विद्यालय मर्ज भइसकेको र एउटा मर्ज गर्ने तयारी भईरहेको शिक्षा शाखा प्रमुख संगीता बुढाले बताउनुभयो । नगरभित्रका अधिकांश बालबालिका निजीमा पढ्ने गरेकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विद्यालयका शिक्षकहरू अझै आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न सकेका छैनन, उनीहरूले पालिकाको निर्देशनलाई पालना गर्दैनन, जसले विद्यालयमा विद्यार्थी संख्यामात्र घटेको छैन, गुणस्तर पनि घटेको छ । विद्यालय सुधारका लागि नगरले अहिले पञ्चवर्षीय शैक्षिक योजना बनाएको र आउँदा दिनमा शिक्षकलाई जिम्मेवार बनाउने उहाँले दाबी गर्नुभयो ।

बनगाड कुपिण्डे नगरपालिकाकी शिक्षा शाखा प्रमुख धुर्वाकुमारी थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थी बढाउन शिक्षक, अभिभावक र सम्बन्धित निकाय जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो । नगरभित्रका ६५ विद्यालयमध्ये १२ भन्दा बढी विद्यालयमा कम विद्यार्थी रहेको उहाँले बताउनुभयो ।

कालिमाटी गाउँपालिकाका शिक्षा शाखाकी कर्मचारी सुनिता महरले भौगोलिक विकटताका कारण अधिकांश स्थानीयहरू सुविधा खोज्दै सहरतिर बसाइँसराइ गरेकाले कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थी संख्या घटेको बताउनुभयो ।
Photosalyan20220925 Photosalyan20220925Photosalyan20220925


मिना बुढाथोकी