सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या

  ०८१ फागुन ५ गते

सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

स्वास्थ्य संस्थामा दैनिक दिन सेवा लिनका लागि आएका बिरामीका लागि स्वास्थ्य संस्थामा उपलब्ध हुने बिरामी बेड नभएपछि भुइमा सेवा दिनुपर्ने बाध्यता भएको छ । उक्त वडाका १ सय ५० भन्दा बढी घरधुरीले सेवा लिन आएका बिरामीहरू हाल भूइमा बसेर उपचार गर्न बाध्य भएको स्थानीय सेवाग्राही दिलबहादुर सिंहले गुनासो गर्नुभयो ।

भौतिक संरचनाको मात्रै अभाव नभएर सो स्वास्थ्य संस्थामा लामो समयदेखि खानेपानी र शौचालयको पनि समस्या हुने गरेको स्थानीयले बताएका छन् । खानेपानी र शौचालयको समस्या भएपछि यतिखेर उक्त ठाउँका सेवाग्राही कान्ति अधारभूत विद्यालयको धाराको साहयता लिनु परेको छ भने सोही विद्यालयको शौचालयमा गएर शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

उक्त विषयमा स्वास्थ्य संस्थाका इन्चार्ज धिरिन शाहीले चिसो मौसमका कारण दैनिक दिन ३० भन्दा बढी बिरामीहरू आउने गरेको र उनीहरूलाई सेवा दिन असहज भएको बताउनु भयो ।
संस्थाको भवन नहुँदा यतिखेर भाडामा चलाउँदै आएको भवन अभावका कारण स्थानीयलाई खुल्ला चौरमा बसाल्ने ठाउँ समेत नभएपछि खुल्ला चौरबाट पालैपालो बोलाएर औषधी वितरण तथा चेकजाँच गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । सो विषयमा गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले आर्थिक अभावका कारण भौतिक संरचनाको व्यवस्था गर्न नसकिएको उल्लेख गर्नुभयो ।


नन्द सिंह