सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै पहलका लागि इन्सेकलाई आग्रह

  ०७९ असार २९ गते

पचरौता नगरपालिकाको कार्यालयले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै लाभग्रहीहरुले इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई असार २८ गते भेटी पहल गरिदिन निवेदनमार्फत आग्रह गरेका छन् ।

नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेमा आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा पचरौता  नगरपालिका–८ अमरपटी की २५ वर्षीया प्रितिकुमारी शर्माले चार वर्षीया छोरी राधाले एक पटक मात्र बालपोषण भत्ता पाएकाले बाँकी रकमका लागि पहल गरिदिन अनुरोध गर्नु भएको हो ।

नगरपालिकाको कार्यालयले कसैलाई दुई किस्ता दिएको र कसैलाई तीन किस्ता दिएर सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियामा त्रुटि गरेको र असार महिनाको अन्तिमसम्म वितरण नगरेकाले असार २८ गते इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई भेटेर निवेदन गरेका हुन् ।

सोही टोलका ७१ वर्षीय धर्मलाल महतो कोइरीले सात वर्षदेखि प्यारालाइसिस भएर शरीर चल्न नसकेर नियमित औषधि खान पर्ने भए पनि भत्ता नपाएकाले औषधि उपचार गर्न समस्या भएको बताउनु भएको छ ।

उहाँले चालु आर्थिक वर्षमा नौ महिनाको भत्ता प्राप्त गरेको र अन्तिम किस्ता असारमा नपाएको भन्दै पहलका लागि इन्सेक प्रतिनिधिलाई अनुरोध गरेको बताउनु भयो ।

सोही टोलका ७९ वर्षीय विहारी ठाकुरले ६ महिनाको सामाजिक सुरक्षा भत्ता नगरपालिकाको कार्यालयले नदिएको र नगरपालिकाको कार्यालय आपसी झैझगडामा अल्झेर सेवाग्राहीको काम नगरेकाले असार महिनामा सामाजिक सुरक्षा भत्ता नपाउने चिन्ता लागेको बताउनु भयो ।

सोही टोलका ७१ वर्षीय शिव चौधरी थारुले आफुले ६ महिनाको भत्ता नपाएको गुनासो गर्नु भएको छ । सोही टोलका ७८ वर्षीय बिहारी ठाकुर लोहारले ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएकाले पहल गरिदिन आग्रह गर्नु भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि बनाएर नेपाल सरकारले यस चालु आर्थिक वर्ष देखि तीन/तीन महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

गत वर्षसम्म चार/चार महिनामा वितरण गर्ने प्रावधान रहेपनि यस वर्ष देखि प्रत्येक तीन महिनामा वितरण गरी सक्ने अवस्थामा अरु सबै स्थानीय तहले वितरण गरेपनि पचरौता नगरपालिकाले किन वितरण गरेन ताकेता गर्ने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो ।

तत्कालीन नगर प्रमुख जनता समाजिवादी पार्टीका रमेशकुमार यादव र वर्तमान प्रमुख नेकपा एमालेका जलन्धर सिंह बिचको राजनीतिक विवादले प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव सेवा प्रवाह गर्न नसकेर विदामा बसेका कारण सामाजिक सुरक्षा भत्ता निकासा नभएको पचरौता नगरपालिकाका सामाजिक सुरक्षा भत्ता पञ्जिकरण शाखाका राकेश चौरसियाले बताउनु भयो ।

उहाँले कार्यालय प्रमुख नभएकाले विगत केहि महिनादेखि ज्येष्ठ नागरिक र बालपोषण भत्ता भुक्तानी दिन नसकेकाले पहल गरिदिन आग्रह गर्नु भयो ।

इन्सेक बारा प्रतिनिधिले ज्येष्ठ नागरिक र बालपोषण पत्ता समयमा उपलब्ध गराउन नगर प्रमुख जलन्धर सिंहलाई भेटेर कुरा गर्दा उहाँले प्रमुख प्रशासकीय अधिकृत नभएकाले समस्या भएको र समयमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।


इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम