सामाजिक सुरक्षा भत्ता लिन ७ हजार खर्च गर्नुपर्ने ज्येष्ठ नागरिकहरूको बाध्यता

  ०७९ भदौ २ गते

जुगल गाउँपालिका–३ को तेम्बाथान, दिपु, तेगा र साङतुङ गाउँका ज्येष्ठ नागरिकलाई त्रैमासिक रूपमा सरकारले दिने १२ हजार रुपियाँ समाजिक सुरक्षा भत्ता लिन ७ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।

यस गाउँका जेष्ठ नागरिक सामाजिक भत्ता बुझ्नकै लागि दुई दिन पैदल हिँडेर ढाडे बजार पुग्नुपर्दछ । १२ हजार भत्ता लिन जाँदा ७ हजारसम्म त खाना, खाजा र बास बसेकै ठाउँमा खर्च गर्नु पर्ने अवस्था रहेको ज्येष्ठ नागरिक फुर्वा शेर्पाले बताउनु भयो ।

भत्ता लिन जाँदा र फर्कदा चार दिन पैदल हिड्नु पर्दा बुढेसकालको शरीर थाकेर बिरामी हुने अवस्था आएको शेर्पाले दुखेसो गर्नु भयो ।

१ सय १० घर धुरी रहेको याँहाको बस्तीका ज्येष्ठ नागरिक, अशक्तलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती छ ।

यसअघि सम्बन्धित वडा कार्यालयबाट घरमै ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएकोमा सरकारले बैङ्किङ प्रणालीबाट दिन सुरु गरेपछि दुर्गम गाउँका नागरिकहरुलाई ठुलै सास्ती परेको स्थानीय पासाङ शेर्पाको भनाइ छ ।

राज्यले ज्येष्ठ नागरिकको भत्ता बैँक खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाए पनि सडक सञ्जाल नपुगेका दुर्गम गाउँका जेष्ठ नागरिकलाई सास्ती भएको छ ।

उत्तरी भेगमा पर्ने जुगल हिमालको फेदी गाउँमा पुग्न गाडी पुग्ने बिन्दु बोल्देबाट एक दिनको उकालो बाटो छिचोल्नु पर्छ ।

सडकले गाउँ नजोडिएका कारण तेम्बाथान, दिपु, तेगा, साङतुङ वस्तीका मानिस दुई रात बास बस्दै भत्ता लिन बैँक भएको ठाउँमा पुग्छन् । फर्कदा फेरी दुई रात बास बस्दै घर पुग्छन् ।

सामाजिक सुरक्षाको भत्तामा लापरबाही भएको थाहा भएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले बैकिंङ प्रणालि लागु गरेको हो ।

तर, बृद्धभत्ताको भरमा बाँचिरहेका याहाँका अशक्त बृद्धबृद्धालाई बैङ्किङ प्रणालीले ठूलो सास्ती, अनावश्यक खर्च र समस्या उत्पन्न भएको छ ।

जेष्ठ नागरिक र अशक्तहरूले सरकारले दिने भत्ता लिन ब्यहोर्नुपरेको समस्या बारे आफूलाई जानकारी भएको जुगल गाउँपालिका–३ का वडाअध्यक्ष लक्ष्मण दोङले बताउनु भयो ।

बैङ्कसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएर समस्या समाधान गर्ने प्रयास गरिने वडा अध्यक्ष दोङले बताउनु भयो ।


नातिबावु धिताल