सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको लक्षित व्यक्तिहरुको गुनासो

  ०७८ साउन २६ गते

बुढीनन्दा नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

बुढीनन्दा नगरपालिका–५ कोटीलागाउँका बिकी मियाले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ५ / ६ घण्टा पैदल हिडेर कोल्टि बजारस्थित राष्ट्रिय बाणिज्य बैंकमा पुगेको भएपनि अपाङ्ग मैत्री संरचना नभएका कारण भत्ता बुझ्न सास्ती भोग्नु परेको दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘यसअघि घरआँगन मै चौमासिक रूपमा भत्ता बुझ्दै आएको थिए । अहिले बैंकबाट भत्ता दिने व्यवस्था गरेदेखि सास्ती खेप्नु परेको छ । बैंक पुगेर पनि खुट्टाको अपाङ् व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता छ । झन्झटिलो बैंकको प्रक्रिया मिलाउँदै पुरै दिन बित्ने गरेको छ । आमा ८२ वर्षको हुनु भयो । उहाँ हिडन सक्नु हुन्न । आफू खुट्टाको अपाङ्ग । आमालाई बैंकमा पुर्याउने व्यक्ति नभएपछि भत्ता पाउनु भएको छैन् ।’

बुढीनन्दा नगरपालिका–४ घोडाकोटका धनबहादुर रोकायाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई बैंकमा पुगेर भत्ता लिन सास्ती भएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘सामाजिक सुरक्षा भत्ता लिनका लागि दिन भरी लाइनमा बस्नु पर्छ । लाइनमा बस्दाबस्दै धेरै व्यक्ति बिरामी समेत हुने गरेका छन् । म बिहाना ६ बजे घरबाट निस्केर १० बजे बैंकमा पुगे । लाइनमा बस्दा ५ घण्टापछि मात्रै पालो आयो ।’

बुढीगंगा नगरपालिका–९ जुवापानीका ९१ वर्षीय दलबीरे नेपालीले सरकारले सामाजिक सुरक्षा भत्ता बैंकबाट दिन थालेपछि आफूहरुले धेरै सास्ती भोक्नु परेको दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै दिने व्यवस्था गर्नु पर्छ । बैंक पाएक पर्ने ठाउँमा छैनन् । एक दिन हिडेर बैंक पुग्नु पर्ने बाध्यता छ ।’

बिकी मिया, धनबहादुर रोकाया र दलबीरे नेपाली जस्तै सयौँ व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता बैंकबाट लिन सास्ती भएको दुखेसो पोख्दै आएका छन् ।

बुढीनन्दा नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम कोल्टिस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा लक्षित सेवाग्राहीको नाममा खाता खोलेर चार÷चार महिनामा उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको रकम लिन अनिवार्य रुपमा लक्षित सेवाग्राहीहरु बैंकमा पुग्नु पर्ने भएकोले थप समस्या भएको उहाँहरुको गुनासो छ ।

बैंकबाट भत्ता रकम उपलब्ध गराउने नियम राम्रो भएपनि भौगोलिक विकटता र कोभिड सङ्क्रमण नियन्त्रणमा नआएकोले सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण नगरी लक्षित वर्गको घरघरमा पुर्याउने वातावरण सरकारले गरि दिनु पर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरुको माग रहेको छ ।

बैंकबाट सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो आएपछि बैंकसँग समन्वय गरेर वडा अनुसार भत्ता लिने मिति र समय तालिका बनाएर सञ्चार माध्येमबाट सार्वजनिक समेत गरेको बुढीनन्दा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत्त रामदत्त न्यौपानेले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाका वाडाहरुको मिति र समय तालिका बनाएका छौँ । उपरान्त बैंकमा भिड पनि कम हुने र सेवाप्रवाह पनि छिटोछरितो हुने छ । बैंकमा आउन नसक्ने असक्त नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरमै कसरी दिन सकिन्छ भनेर पनि छलफल भइरहेको छ ।’

सामाजिक सुरक्षा भत्ता यसभन्दा अगडी लक्षित व्यक्तिहरुलाई घरघरमै गएर दिने गरेको भएपनि सम्बन्धित व्यक्तिले सुरक्षा भत्ता नपाएको गुनासो आएपछि सरकारले बैंकबाटै सम्बन्धित व्यक्तिलाई नै दिदै आएको न्यौपानेको भनाइ छ ।

photo20210810bajura (1)

photo20210810bajura (2)

photo20210810bajura (3)

photo20210810bajura (4)

photo20210810bajura (5)

photo20210810bajura (6)


पदमबहादुर सिंह