सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती
जिल्लास्थित ज्येष्ठ नागरिक, एकल महिला, अशक्त र असाहय व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली सुरु भएदेखि नै सेवा लिन असहज भएको दुखेसो पोख्नु भएको छ ।
जनप्रतिनिधि र वडाका कर्मचारीहरु घरैमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझाउदा सहज महुसुस गर्दै आउनु भएका सेगाग्राहीहरु बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती हुन थालेको दुखेसो पोख्दै आउनु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिकाकी रेवती गुरुधामी ७५ वर्ष पुग्नु भयो । ढल्किदो उमेर, वृद्धावस्था र खुट्टा दुख्ने समस्याले उहाँ हिडडुल गर्न सक्न हुन्न् । विगतमा घरैमा भत्ता बुझ्ने उहाँलाई अहिले सरकारले दिने वृद्धभत्ता लिन झोता बजार पुग्नु पर्छ । बैंकसम्म पुगेर भत्ता लिन गाह्रो भएको उहाँले दुखेसो पोख्नु भयो ।
‘सधै सवारी साधन पाइँदैन । हिडेर जान पनि गोडा दुखेर सक्दिन् ।’ उहाँले भन्नु भयो, ‘सरकारले के नियम लागाई दियो ? जसरी नि बैंकसम्म आफै नपुगी नहुने । पाएको रकम पनि पाएकै दिन आधाजती खर्च हुन्छ ।’
रेवती जस्तै केदारस्युँ गाउँपालिकाका अन्य सेवाग्राहीले पनि अनेक कष्ट गरेर झोता बजारमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्नु पर्ने बाध्य भएको बताउनु भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि बैंकिङ प्रणाली अपनाउने सरकारी लक्ष्य अनुसार जिल्लाका ११ ओटा स्थानीय तहले चालु आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् ।
सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफै बैंक पुग्नु पर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैले मिलाउनु पर्ने भएपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नु परेको हो ।
बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने गरेको सेवाग्राहीको गुनासो छ । जिल्लाका ११ ओटा स्थानीय तहमा बैंंक स्थापना गरिएको भए पनि सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको सहजताका लागि छुट्टै व्यवस्था गरिएको छैन् ।
स्थानीय तहहरुले पालिका भित्रैका बैंकमार्फत भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभरी हिड्नु पर्ने वा महंगो रकम तिरेर सवारी रिजर्भ गर्नु पर्ने बाध्यता रहेको छ ।
अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिसहरुले अरूको सहारा लिनु पर्ने बाध्यता रहेको छ । परिवारका सदस्य वा छिमेकीको सहारा लिने सेवाग्राहीले सामाजिक सुरक्षा बाफत पाएको रकमको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् ।
पाहाडी जिल्लाका अधिकांश क्षेत्रमा नियमित सवारी नचल्ने भएकाले सवारी साधन रिजर्भ गर्दा भाडा महँगो हुने भएपछि भत्ता बाफत पाएको रकम मध्ये आधा भन्दा बढी खर्च हुने गरेको जयपृथ्वी नगरपालिका–११ का स्थानीय कृष्ण धामीले दुखेसो पोख्नु भयो ।
जयपृथ्वी नगपालिका—१ कैलाशकी विजयादेवी सिंह खुट्टा भाच्चिएर थलापरेका कारण घरबाहिर कतै हिडडुल गर्न सक्नु हुन्न् । उहाँलाई बैंकसम्म पुगेर भत्ता बुझ्न सजिलो छैन् । जिल्लामा उहाँको जस्तो समस्या भएका धेरै सेवाग्राही रहेका छन् ।
जयपृथ्वी नगरपालिका–१ कैलाशकी गम्भिरादेवि सिंह सामाजिक सुरक्षा भत्ता लिन तीन घण्टा हिडेर सदरमुकाम चैनपुरको नविल बैंकमा पुग्नु हुन्छ । घरमा एक्लै उहाँ बिहान भत्ता लिन घरबाट हिडेर साँझ मात्रै घर फर्किनु हुन्छ । उहाँले भन्नु भयो– ‘घरमा कोही छैनन् । एक्लै छु । बैंकसम्म पुगेर घर फर्किदा झमक्कै साँझ पर्छ । बैंकमा पालो कुर्दा हैरान हुन्छ । सामाजिक सुरक्षा बाफतको रकम पहिलेजस्तो घरमै पाए कति सजिलो हुन्थ्यो ।’
स्थानीय खडकबहादुर सिंहले अधिकांश ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बैंकिङ्क प्रणालीबाट लिन निकै झन्झटिलो भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘एक्कासि यस्तो नियम आयो । धेरै दुःख भएको छ । घरघरमै ल्याएर दिँदा धेरै सजिलो थियो । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता बारे जानकारी नपाएका सेवाग्राहीले दुःख दिन मात्रै बैंक धाउन लगाएको भन्ने बुझाई छ । सामाजिक सुरक्षा भत्ता लिन बैंकमा पुग्ने कतिपय ज्येष्ठ नागरिकहरूले घण्टौँ पालो कुर्नु पर्ने र बैंकका कर्मचारीको दुर्व्यवहार समेत सहनु पर्ने अवस्था छ ।’
सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी छविसपाथिभेरा गाउँपालिका–१ परिङगालकी ७० वर्षीया सिता गिरीको बाटोमा नै मृत्यु भयो । माघ २५ गते गाउँपालिकाको कार्यालय व्याँसीबाट ज्येष्ठ नागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणमा उहाँको मृत्यु भएको स्थानीय रामभक्त गिरीले बताउनु भयो ।
गाउँपालिका भवन व्याँसीमा ज्येष्ठ नागरिक भत्ता बुझ्न जानु भएकी गिरीको दिउसो घर फर्कने क्रममा बाटोमै मृत्यु भएको हो । दमकी विरामी भएकी गिरी केही समय अघिदेखि अस्वस्थ्य रहेदै आउनु भएको भए पनि सामाजिक सुरक्षा भत्ता बुझ्न गएपछि मृत्यु भएको बुहारी सन्तोला गिरीले बताउनु भयो । मृतक गिरीको घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैंक पुग्न करिब डेढ घण्टा जिपको यात्रा तय गर्नु पर्छ । गाउँपालिकाले भत्ता बुझ्न बैंकमै जानुपर्ने नियम लागु गरेपछि ज्येष्ठ नागरिकहरूले सास्ती खोप्नु परकेो छ ।
छबिसपाथीभेरा गाउँपालिकाभरीमा बैंकमा आउन नसक्ने अशक्त र ज्येष्ठ नागरिकहरुको सङ्ख्या २ सय भन्दा बढी छ । उहाँहरूलाई सहज होस् भनेर वडा ६ र ७ का लागि बिसौना र वडा नम्बर १ का लागि बगडगाउँमा बैंकिङ सेवा सुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष बसन्त चलाउनेले बताउनु भयो ।
गाउँपालिकाको केन्द्रमा रहेको बैंकको शाखाबाट भत्ता लिन आउन कुनै गाउँबाट दिनभरी लाग्ने भएकाले इच्छाइएको व्यक्तिलाई समेत भुक्तानी दिन मिल्ने गरी तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष चलाउनेले बताउनु भयो ।
सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा सेवाग्राहीको मृत्यु भएको यो पहिलो घटना भए पनि भत्ता बुझ्ने क्रममा जिल्लाभरीका ज्येष्ठ नागरिक र अशक्तहरुले लामो समयदेखि सास्ती भोगिरहेका छन् ।
साइपालमा घरमै पुगेर सुरक्षा भत्ता वितरण
जिल्लाका १२ ओटा स्थानीय तहमध्ये एउटा मात्रै स्थानीय तह साइपाल गाउँपालिकाले मात्रै सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको घरमै पुगेर वितरण गर्न थालेको छ ।
गाउँपालिकाको केन्द्रमा बैंक शाखा नभएपछि सेवाग्राहीको घरमै पुगेर भत्ता वितरण गर्न सुरु गरेको हो ।
साइपाल गाउँपालिकामा कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा छैन् । यहाँबाट सबैभन्दा नजिकको बैंक शाखा भएको ठाउँ तलकोट गाउँपालिका हो । जहाँ पुग्न तीन दिन हिँड्नु पर्छ । यस गाउँपालिकाले बैंकिङ् सेवाकै लागि गाउँपालिकाको सम्पर्क कार्यालय जिल्लाको सदरमुकाम चैनपुरमा खोल्नुपरेको छ ।
साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले गाउँपालिकामा बैंक शाखा खोल्न राष्ट्र बैंकले एभरेस्ट बैंकलाई तोकेको भए पनि अहिलेसम्म एभरेष्ट बैंकले शाखा सञ्चालन नगर्दा समस्या भएको बताउनु भयो ।
यसबारे राष्ट्र बैंकमा दुई पटक पत्र पठाइसकेको भए पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनु भयो ।
गाउँपालिकामा बैंक सेवा नभएपछि घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको समेत उपाध्यक्ष तामाङले बताउनु भयो ।
साइपाल क्षेत्र भौगोलिक हिसाबले निकै टाँढा छ । यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटसँग जोडिएको छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…