सामाजिक सुरक्षा भत्ता नपाउँदा दशैं मनाउन कठिन हुने गुनासो 

  ०७३ असोज १७ गते

तेह्रथुम जिल्लामा लक्षित समुदायका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता नपाएपछि दशैं मनाउन कठिन हुने गुनासो गरेका छन् । स्थानीय ज्येष्ठ नागरिकले आफूहरूलाई समयमै रकम नदिँदा इच्छा लागेका सामान नै किन्न नपाएको र त्यसले दशैंको उत्साहमा समेत असर पारेको बताएका हुन् ।

सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदाय अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका व्यक्तिलगायतलाई स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता समयमै वितरण नगर्दा दशैं मनाउन कठिन हुने बताएका हुन् ।

गतवर्ष घटस्थापना आउनु १५ दिनअघि वितरण गरिसक्ने परम्परा भएपनि यो वर्ष अझै सामाजिक सुरक्षा रकम नपाएको म्याङलुङ नपा-६ का हस्तबहादुर लिम्बुले बताए । समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्नु पर्ने भएपनि सरकारबाट पाउने सुविधासमेत समयमा नदिएर अपमान गरेको ज्येष्ठ नागरिक जिल्ला सङ्घका सचिव उमानाथ भण्डारीले गुनासो गरे ।

भत्ता आउला र दशैं खर्च टारौंला भनेर बसेका ज्येष्ठ नागरिक दशैं सुरु हुँदासमेत भत्ता नपाएपछि  निराश भएका छन् ।

सरकारले बैङ्कमार्फत भत्ता वितरण गर्ने निर्णय गरेर सबैलाई खाता खोल्न निर्देशन गरेपछि दशैं अगावै बैङ्कमार्फत भत्ता वितरण गर्न असम्भव भएको भन्दै यसपटक पनि साविक स्थानहरूबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने जिल्ला विकास समिति तेह्रथुमका सामाजिक सुरक्षा कोष कार्यक्रम फोकल पर्सन लिला ढुङ्गानाले बताइन् ।

उनका अनुसार जिल्लामा वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अख्तियारी आइसकेकोले एक हप्तामा सम्बन्धित गाविसको खातामा रकम जम्मा हुने जानकारी दिए ।

जिल्लामा ९ हजार २ सय जना सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरू रहेको सम्बन्धित नगरपालिका र जिल्ला विकास समितिले जनाएको छ ।


भगिश्वर लिम्बू