सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । फागुन मसान्त सम्ममा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझैसम्म पनि नपाएको उनीहरूले गुनासो गरेका हुन् । प्रत्येक चौमासिकमा वितरण गर्दै आएको भत्ता पछिल्लो दोस्रो चौमासिकमा वितरण भएको छैन ।

'सधैँ यो समयमा त सचिवले बोलाउँथे ।'-दोहलीका ७५ वर्षीय इन्द्रबहादुर गन्धर्भले भने-'खै आउने वा नआउने केही भनेका छैनन् ।' साँढे पाँच महिना रकम वितरण नभएपछि ज्येष्ठ नागरिकले नगरपालिका, गाउँपालिका तथा वडा सचिवहरूसँग भत्ता किन आएन ? भन्दै प्रश्न गर्ने गरेको इस्मा गाउँपालिका-४ का सचिव भिमप्रसाद पोख्रेलले बताए ।

स्थानीय तह कार्यान्वयन भएको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिका कार्यालयको खातामा रकम उपलव्ध नगराएका कारण बुढाबुढीहरू सामाजिक सुरक्षा भत्ता पाउनवाट वञ्चित भएका हुन् ।

सामाजिक सुरक्षा कार्यविधि-२०७३ अनुसार गत माघ १५ गते भित्र दोस्रो चरणको सामाजिक सुरक्षा भत्ता बाँसिक्नुपर्ने थियो । तत्कालीन जिल्ला विकास समितिले समयमै गाउँ विकास समितिका खातामा रकम उपलब्ध नगराएका कारण समस्या भएको साविकका गाविस सचिव हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपाल सेनले बताए ।

'जिविसले पहिल्यै गाविसको खातामा रकम पठाइसक्नु पर्ने थियो । उसले पठाएन ।'-सेनले भने-'हामीहरूलाई त गाउँमा गएर ती बृद्ध बा आमाहरूको अगाडि मुख देखाउन पनि लाजमर्दो हुन लाग्यो ।'

जिल्ला समन्वय समिति गुल्मीकी स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले साविकको जिल्ला विकास समितिबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको अवस्थामा सरकारले स्थानीय तह कार्यान्वयन गरेपछि चेकमा समस्या आएको बताइन् । 'हामीले सबै प्रक्रिया पुरा गरेर खातामा रकम पठाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएका थियौँ । तर, चेक रोकिएपछि समस्या भयो । नयाँ खाता खोल्न पत्र पठाइसकेका छौँ । अब चाँडै खातामा रकम जम्मा हुन्छ ।'-श्रेष्ठले भनिन् ।'

दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको गुल्मी जिल्लामा एउटा वडामा न्यूनतम २० लाखदेखि अधिकतम ७० लाख रुपियाँसम्म सामाजिक सुरक्षा भत्ता रकम वितरण हुने गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।


टोपलाल अर्याल