सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो

दसैँ अगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा राजविराज नगरपालिकाका १ हजार ७ सय २२ जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिका चाडबाड मनाउनबाट विमुख बनेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि ०७२ अनुरुप नगरपालिकाको खातामा भत्ताको अख्तियारिसहित १ करोड १० लाख ९७ हजार रकम आए पनि कर्मचारीहरूको लापारबाहीका कारण रकम वितरण हुन नसक्दा उनीहरूको दसैँ खल्लो भएको हो ।

दसैँको अवसरमा सुरक्षा भत्ता नपाउँदा लक्षित वर्गका नागरिकको दसैँ खल्लो भएको कार्यालयका शाखा अधिकृत प्रफुल्ल श्रेष्ठले बताए ।

राजविराज नगरपालिकाबाट ८ सय ४१ जना ज्येष्ठ नागरिक, ६ सय ११ जना एकल महिला, ७४ जना अपाङ्गता भएका व्यक्ति र १ सय ९६ जना दलित बालबालिकासमेत गरी १ हजार ७ सय २२ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका थिए ।

एक साता अगावै नगरपालिकाको खातामा रकम आएपनि तत्कालीन कार्यालय प्रमुख विष्णु गुरुङले चेकमा हस्ताक्षर नगरी सरुवा भई असोज १७ गते प्युठान गएकाले रकम वितरण गर्न नसकिएको कार्यालयका निमित्त प्रमुख हरिनारायण राम रौनियारले बताए ।

बुढेसकालको साहारा बनेको सामाजिक सुरक्षा भत्ता नयाँ कार्यालय प्रमुख नआए तिहार अघि पनि नपाइने कार्यालयका लेखापाल शत्रुघ्नलाल दासले बताए ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ता बापतको रकमले चाडवाडमा नयाँ कपडा किन्ने, मिठो खाने र अन्य गर्जो टार्ने आशमा दैनिक नगरपालिका धाउने ज्येष्ठ नागरिक र एकल महिलाहरू रित्तो हात घर फर्कनु परेको छ ।

नेपालीहरुको महान् पर्व दसैँ अगावै पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता तिहार र छठ पर्वमा पनि नपाइने चिन्ताले ज्येष्ठ नागरिक, एकल महिलालगायत लक्षित वर्गका नागरिक निराश बनेका छन् ।


मनोहरकुमार पोखरेल