सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

  ०७३ असोज २२ गते

नेपालीहरूको महान पर्व बडा दसैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले दुखेसो पोखेका छन् ।

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार बडा दसैँमा ज्येष्ठ नागरिकहरूले मिठो मसिनो खाने र लुगाफाटो फेर्ने योजना सपनामा सीमित रहेको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले गुनासो गरे । उनले भने-'दसैँको मुखमा पनि सामाजिक सुरक्षा भत्ता पाइएन । दसैँ खल्लो हुने भयो ।' घटस्थापना अघि नै चन्दननाथ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भए पनि त्यसो नभएपछि भारतीले दुःख व्यक्त गरे ।

नगर अपाङ्ग सञ्जाल, जुम्लाका अध्यक्ष यज्ञबहादुर बुढाथापाले चन्दननाथ नगर क्षेत्र भित्रका अपाङ्गता भएका व्यक्तिहरूले दशैँ जस्तो महान पर्वको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा चिन्ता थपिएको बताए ।

चन्दननाथ नगरपालिका जुम्लाका निमित्त कार्यकारी अधिकृत इञ्जिनियर लोकेन्द्र महतले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमार्फ वितरण गर्ने व्यवस्थाको परिपत्र आएको र कार्यकारी अधिकृतको सरूवा भएकोले दसैँ अघि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बताए । आर्थिक वर्ष २०७३/०७४ का लागि नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायत लक्षित वर्गका लागि १ करोड ६७ लाख रुपियाँ रकम निकासा भई आएको पनि उनले बताए ।

जिल्ला विकास समिति, जुम्लाका योजना तथा प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले २६ ओटा गाविसमा दसैँ विदा हुनु भन्दा अघि सामाजिक सुरक्षा भत्ता वितरण गरी सक्न गाविस सचिवहरूलाई निर्देशन दिइएको र सोही अनुसार काम भएको बताए ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार गाँउमा बैङ्क नहुँदा दसैँको मुखमा ग्रामीण भेगका ज्येष्ठ नागरिक, एकल महिला, अपाङगता भएका व्यक्ति, दलितलगायत लक्षित वर्गले पाउनुपर्ने सामाजिक सुरक्षा बापतको भत्ता पाउन कठिन भएको छ ।

कास्की जिल्लाको कास्कीकोट गाविसमा बैङ्क नहुँदा सामाजिक सुरक्षावापत पाउने गरेको भत्ता रकम लिन पोखरा स्थित मुक्तिनाथ विकास बैङ्कमा खाता खोलिएको छ । सामाजिक सुरक्षा भत्ता लिन पोखरा बगर स्थित बैङ्कमा आएकी कास्कीकोट-१ की ५८ वर्षीया एकल महिला रूपाकुमारी दाहालले घरमा नै बसेर पाउने गरेको भत्ता लिन कठिन भएको बताइन् ।

यसैगरी गाविसमा बैङ्क नभएको अवस्थामा पनि सरकारले बैङ्क खातामार्फत सामाजिक सुरक्षा भत्ता दिने निर्णय गर्दा ज्येष्ठ नागरिकलाई भत्ता लिन आउन निकै सकस परेको र भत्ता हराउने हो कि भन्ने डरले सताएको कास्कीकोट-६ का ७५ वर्षीय ज्येष्ठ नागरिक पानबहादुर क्षेत्रीले बताए ।

कास्कीकोट गाविसका सचिव नारायणप्रसाद अधिकारीले नेपाल सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने व्यवस्था भएकाले भत्ता लिने व्यक्तिलाई समस्या भएको बताए ।


अनलाइन डेस्क