सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा

  ०७८ कात्तिक २७ गते

आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिकालगायतका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा परेका छन् ।

भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, दलित, बाल संरक्षण र अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेका हुन् ।

जिराभवानी गाउँपालिका–५ शान्तिनगरका दानबहादुर श्रेष्ठले समाजिक सुरक्षा भत्ता नपाएका कारण आफूले औषधि किन्न नपाएको गुनासो गर्नु भयो ।

सखुवा प्रसौनी गाउँपालिका–१ मधुवन मथौलीकी एकल महिला जोखनी देवीले भत्तँ नपाएका कारण समस्या भएको बताउनु भयो ।

पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गाउँपालिकाले बैङ्कमा रकम पठाइसकेको अबको केही दिनमा लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जानरकारी दिनु भयो ।

पटेर्वा सुगौलीमा समाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या १ हजार ८ सय जना रहेको सूचना प्रविधि अधिकृत सोलेन्द्र पञ्जियारले जानकारी दिनु भयो ।

पोखरीया नगरपालिकामा २ हजार ४ सय जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको नगर प्रमुख दीपनारायण रौनियारले जानकारी दिनु भयो ।

जिराभवानी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या २ हजार जनाभन्दा बढी र जगरनाथपुर गाउँपालिकामा २ हजार २ सय जनाभन्दा बढीले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।


कृष्णचन्द्र लामिछाने