सामाजिक सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री ढुङ्गेल

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नागरिकको हरेक अधिकार तथा नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नागरिकका सामाजिक सुरक्षा प्रदान गर्ने काममा सबैले कर्तव्यबोध गरे संविधान र राज्यले दिएको अधिकार नागरिकले सहज पाउने मन्त्री ढुङ्गेलले बताउनुभयो ।
‘नेपालको संविधान लोकतान्त्रिक र नागरिक अधिकारमैत्री छ ।’–मन्त्री ढुङ्गेलले भन्नुभयो–‘व्यवहारमा केही समस्या देखिएका होलान् । सच्याउँदै जानुपर्छ ।’
प्रदेश सरकार पनि नागरिकको सामाजिक सुरक्षाको क्षेत्रमा संवेदनशील भएर काम गरेको बताउनुभयो । मङ्सिर २४ गते हेटौँडामा भएको सामाजिक सुरक्षामा नागरिक समाजको चासोबारे अन्तरक्रिया कार्यक्रम मन्त्री ढुङ्गेलले यस्तो बताउनुभएको हो ।
मन्त्री ढुङ्गेलले नागरिकको स्वास्थ अधिकारको लागि प्रदेश सरकारले मख्यमन्त्री जनता स्वास्थ कार्यक्रम तथा एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेको बताउनुभयो ।
यस्तै बालबालिकाहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गराउँदै सामुदायिक विद्यालयहरुलाई बस सेवा उपलब्ध तथा दुर्गमका स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा शव वाहन उपलब्ध गराएको उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले नगरिकलाई राज्यले दिएको सेवा लक्षित नागरिकको पहुँचमा पुगेको छ÷छैन नागरिककै स्तरबाट चासो हुनु सकारात्मक रहेको बताउनुभयो ।
स्थानीय सरकारको नागरिकप्रतिको दायित्व बहन गर्ने क्रममा नगरभित्रका ५ सय चेपाङ र सीमान्तकृत समुदायलाई स्वास्थ सेवाको सुनिश्चितताको लागि उपमहानगरले नै उनीहरुको स्वास्थ बिमा गरेको बताउनुभयो ।
नगरका छात्राहरुका लागि  सेनिटरी प्याड निःशुल्क वितरण, दीर्घ रोगीलाई घरदैलो स्वास्थ सेवा, ग्रमीण क्षेत्रका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक भत्ता वितरण गर्ने जस्ता नागरिकको सामाजिक सुरक्षामा उपमहानगर सधै काम गर्दै आएको उपमेयर लामाले बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश ३ का संयोजक कृष्ण गौतमले संविधानमा भएका नागरिकका सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सबैले आ–आफ्नो तहबाट चासो दिनुपर्ने बताउनुभयो ।
राज्यले अपाङ्गता भएका व्यक्ति, एकल महिला, लोपोन्मुख समुदाय, ज्येष्ठ नागरिक, जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच बढाउनु पर्ने बताउनुभयो ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालकी अध्यक्ष डोल्मा तामाङले विपन्न समुदायको बस्तीलगायतका सवालमा चुनौती भएको बताउनुभयो ।
विकट क्षेत्रमा शिक्षा, स्वास्थको सवालमा राज्यले गरेको व्यवस्थामा प्रचारप्रसारको अवस्थाबारे निगरानीमा सञ्जालले काम गर्ने गरेको बताउनुभयो ।
यस्तै सञ्जालका सदस्य तिलोत्तम पौडेलले संविधानमा स्पष्ट उल्लेख भएका नागरिकका सामाजिक सुरक्षासम्बन्धी अधिकार तथा सामाजिक सुरक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै अझैपनि विकट क्षेत्रका नागरिक तथा विपन्न नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता लिन कठिन हुने गरेको बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले सामाजिक सुरक्षा सेवामा नागरिककै चासो पनि कम रहेको बताउनुभयो । सामाजिक सुरक्षा भत्तामा मात्रै केन्द्रित हुनुनहुने उहाँले बताउनुभयो ।
नागरिक अधिकार, सुरक्षाको सवालमा विभिन्न आश्रममा आश्रित नागरिकको ठेगाना नभएको अवस्थामा उनीहरूले सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित भइरहनुपर्ने समस्या रहेको सरकोकारवालाहरुले बताएका छन् ।


पुष्पराज अधिकारी