सामाजिक सद्भाव कायम राख्न अधिकारकर्मीहरूको अपिल

  ०८० असोज १८ गते

धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थिति प्रति सजग रहदै सामाजिक सद्भाव कायम राख्न इन्सेकलगायत सङ्घ संस्थाका प्रतिनिधिहरूले साउन १८ गते प्रेस विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

विज्ञप्तिमा नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबिचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई सङ्रक्षण एवम् प्रबद्र्धन गर्ने उल्लेख गरिएको सन्दर्भमा सबै पक्षले सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई सङ्रक्षण एवम् प्रबद्र्धन गर्न अनुरोध गरिएको छ ।

संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु हामी सबै, जात, जाती धर्म समुदायका नागरिकको कर्तव्य एवं  दायित्व हुने भएकाले यसमा सबैले सकारात्मक भूमिका खेल्न हामी अनुरोध गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।

साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ सम्वेदनशील हुन, सामाजिक सञ्जालमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका सामग्रीहरू पोष्ट नगर्न, धार्मिक आस्थामा असर पर्ने गरि अमर्यादितरुपमा सामाजिक सञ्जालको प्रयोग नगर्न, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरूको अधिकार प्रति सचेत हुन अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।

वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात ठकुरी, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका बसन्त गौतम, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, आइएचआरीका विश्वजीत तिवारी, सामाजिक अभियन्ता शाहिदा बनो, अधिवक्ता बलबहादुर चन्दलगायतलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरु नगर्न÷नगराउन र संयमता अपनाउन अपिल गरेका छन् ।

हिन्दु समुदायले ०८० असोज १६ गतेको प्रदर्शन गरेको र्‍यालीका क्रममा हिन्दु र मुस्लिम समुदायबिच झडप भएको थियो । झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी २२ जना घाइते भएका थिए ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज