सामाजिक सञ्जाल दुरुपयोगका कारण महिला तथा बालबालिकाहरूले घर छाड्ने क्रम बढ्दो, एक वर्षमा १ सय ३२ जना हराएको उजुरी दर्ता
गुल्मीमा सामाजिक सञ्जाल दुरुपयोगका कारण महिला तथा बालबालिकाहरूले घर छाड्ने क्रम बढ्दै गएको छ । जिल्लामा एक वर्षमा १ सय ३२ महिला तथा बालबालिका हराएको उजुरी प्रहरीमा दर्ता भएका छन् ।
मालिका गाउँपालिकाका १४ र १५ वर्षीया दुई बालिकाले २१ वर्षीय युवकसँग फेसबुकमा चिनजान गरेको कारण साउन २१ गते घर छाडेर हिडे । छोरीहरू लामो समय सम्पर्कमा नआएपछि आफन्तले साउन २१ गतेनै खोजतलास गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए । उजुरी दिएकै दिन परिवार र प्रहरीले खोज्दै जाँदा साउन २२ गते रेसुंगा नगरपालिका– ९ उपल्लो तम्घासमा फेला परे ।
चन्द्रकोट गाउँपालिकाकी १४ वर्षीया बालिका ५० वर्षीय भारतीय नागरिकसँग वैशाख ३ गते घर छाडेर जानु भयो । परिवारले वैशाख ५ गते प्रहरी चौकी, मजुवामा हुलियासहित उजुरी दर्ता गराए । खोज्दै जाँदा कपिलवस्तुको तौलिहवाबाट बालिकाको उद्धार गरेर अभिभावको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
क्याम्पस पढ्न घरबाट हिडेकी रेसुंगा नगरपालिकाकी १७ वर्षीया बालिका एक युवकसँग बुटवल जादै गर्दा जेठ १८ गते गुल्मी दरवार गाउँपालिका– ३ को गौडाकोटमा फेला परिन । रेसुंगा नगरपालिकाकै १६ बर्षीया बालिकाको भारतमा एक युवकसँग फेसबुकमा चिनजान थियो । युवकले बालिकालाई पैसा पठाएर भारत बोलाए । बालिकाले साउन २ गते घर छाडिन् । परिवारको सूचनाको आधारमा प्रहरीले खोज्दै जाँदा भारतीय नाकामा शान्ति पुर्नस्थापना गृहबाट बालिकालाई उद्धार गरेर अभिभावकलाई बुझाइएको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।
उल्लेखित घटना प्रतिनिधिमूलक घटना हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा १ सय ३२ जना महिला तथा बालबालिका हराएका छन् । त्यसमा ३६ जना बालिका र १० बालक छन् । महिला ८५ जना र ज्येष्ठ नागरिक महिलाको एक जना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक बर्ष ०७७/०७८ मा महिला ३५ जना, बालक तीन जना, बालिका आठ र वृद्ध दुई जना गरी ४८ जना हराएका छन् । जसमध्ये महिला २६, बालक दुई बालिका आठ र वृद्धा दुई जना फेला परेका छन् भने १० जना फेला परेनन् ।
यसैगरी, आर्थिक बर्ष ०७६/०७७ मा १ सय ३० जना महिला, १९ जना बालक, ३३ जना बालिका र वृद्ध तीन जना हराएका थिए । ९० जना महिला,१७ जना बालक, ३१ जना बालिका र तीन जना वृद्ध फेला परे भने ४४ जना फेला नपरेको प्रहरीको तथ्याङ् रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेयले प्रहरी, परिवार र आफन्तहरू मार्फत हराएका महिला तथा बालिकाहरू फेला पर्ने गरेको बताउनु भयो । कसैलाई भाग्दै गर्दा यात्राकै क्रममा फेला पार्ने र केही होटल तथा बसपार्कहरूमा फेला पर्ने गरेको पाण्डेयले जानकारी दिनुभयो ।
पाण्डेयका अनुसार परिवारले हराएकाहरूलाई फेला परेको सूचना नदिने, अन्तर जातीय विवाह भएको अवस्थामा पनि कसैलाई नभन्ने र केहीको मृत्यु पनि हुने भएकाले थोरै सङ्ख्यामा फेला नपर्नेहरू पनि रहेका छन् ।
स्वार्थ समूह वा व्यक्तिले सामाजिक सञ्जाल मार्फत बालिका तथा महिलाहरूलाई साथी बनाउने, मोवाइल व्यालेन्स पठाउने, भेट्न लगाउने, अडियो/भिडियो मनोरञ्जन गराउने, शरीरका अंग देखाउन लगाउने र पछि उक्त अडियो वा भिडियो देखाएर ब्ल्याकमेल गरेर अपराध समेत हुने गरेको डिएसपी पाण्डेले बताउनु भयो ।
स्थानीय सरकार आर्थिक समाजिक बिषयहरूको सवलीकरण भन्दा भौतिक पुर्वाधार निर्माणमा केन्द्रित छन् । यस्ता बिषय ओझेलमा परिरहेको नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयले बताउनु भयो ।
समूदाय स्तरमा बढ्दै गएका समस्याको बारेमा सचेत हुदै परिवार, समुदाय र स्थानीय सरकार समयमै सचेत नभए भोली ठुलो दुर्घटनाको सामना गर्नुपर्ने भएकाले प्रहरीसँगको साझेदारीमा अभियानहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय एसपी नविनकिशोर प्रधानले जिल्लामा बालिकाहरू घर छोडेर हिड्ने क्रम बढ्दै गएकाले सबैभन्दा पहिला परिवार सचेत र जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उहाँले आफ्ना छोराछोरीको निगरानी परिवारले गर्ने, फरक व्यक्तिहरू समूदाय वा होटल तथा सार्बजनिक स्थानमा भेटिए निगरानी गर्ने र समयमै प्रहरीलाई सूचना उपलब्ध गराउन एसपी प्रधानले आग्रह गर्नुभयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…