सामाजिक अभियन्ताहरूको सक्रियतामा बाल विवाह रोकियो

राक्सिराङ गाउँपालिका–८ चे गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ ।

स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत १७ वर्षीया बालिकासँग कात्तिक २१ गते चेपाङ समुदायको परम्परा अनुसार केटापक्ष विवाहका लागि पोङ राख्न आएको थाहा पाएपछि अभियन्ताहरूको पहलमा विवाह रोकिएको हो ।

दीगो विकासका लागि एकता नेपालकी सहजकर्ता सीता मोक्तानले बालिकाको घरमा पुगी गैरकानुनी विवाह गर्न नहुने भन्दै सहजीकरण गरेपछि पोङ फिर्ता भएको संस्थाका सहायक परियोजना व्यवस्थापक गोविन्द न्यौपानेले जानकारी दिए ।

चेपाङ समुदायमा अहिले पनि पोङ राख्ने र जबरजस्ती रूपमा भगाएर विवाह गर्ने चलन विद्यमान छ ।


पुष्पराज अधिकारी