सात महिनायता सुत्केरी भत्ताबाट वञ्चित भएको गुनासो

सात महिनायता स्वास्थ्य संस्थामा सुत्केरी भएपछि पाउने यातायात र प्रोत्साहन बापतको रकम नपाएको सुत्केरी महिलाहरुले गुनासो गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको रकम अहिले स्थानीय तहका स्वास्थ्य एकाईहरूले दिने व्यवस्था छ । स्थानीय तहहरूले सात महिनायता प्रोत्साहन भत्ता उपलब्ध गराएका छैनन् ।

सुत्केरी भएपछि आमाले प्रोत्साहन भक्ता स्वरुप नगद र न्यानो लुगा तत्काल पाउने व्यवस्था छ । ‘साउन महिनादेखि उक्त सुविधा उपलब्ध गराउन सकिएको छैन ।’–जिल्ला अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काले भने ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी लक्ष्मी लिम्बुको गुनासो बेग्लै छ । ‘हामीलाई के थाहा, पैसा माथिबाट आयो÷आएन । सरकारी नीतिमा सरकारले भत्ता दिने भन्ने छ । हामीले पाएनौँ ।’–उनले भनिन् ।

लिम्बुले अस्पताल गएका बेला भत्ता नपाएर घर फर्किसकेपछि दैलोमै आएर देलान् भन्नेमा विश्वास नभएको बताइन् । जिल्ला अस्पतालमै सुत्केरी भएकी खुसीमाया अधिकारीले पनि लक्ष्मीको जस्तै गुनासो सुनाइन् ।

‘त्यतिबेला आफूलाई त भत्ता बुझ्ने चासो नै भएन, पीडाले ध्यान पनि गएन ।’–उनले भनिन्–‘अस्पतालका कर्मचारीले पतिलाई अहिले पैसा छैन, पछि दिउँला भनेका रहेछन् ।’

उनीहरुले भने–‘सरकारले यातायात खर्च बापतको र प्रोत्साहन भत्ता बापतको पैसा बढाएको रहेछ, तर हामीले त पहिलाको जति नै पाएका छैनौँ ।’

यस्तो गुनासो गर्ने महिला जिल्लामा थुप्रै छन् । जिल्ला अस्पतालमा मात्रै चालु आर्थिक वर्षको माघ मसान्तसम्म ५ सय ६६ जना सुत्केरी भएका छन् । तर, तिनीहरुले अहिलेसम्म सुत्केरी भत्ता पाउन सकेका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलीप श्रेष्ठले स्थानीयतहको मातहतमा स्वास्थ्य सस्था संचालनमा आएपछि अहिले केही पनि बजेट नरहेको बताए ।

उनले सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहनस्वरुप दिने भत्ता पहिले जस्तो स्वास्थ्य सस्थाले दिन नमिल्ने बताए ।

आमा र बच्चाको मृत्युदर घटाउनका लागि सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा हिमाली जिल्लामा प्रति व्यक्ति १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईका जिल्लामा ५ सय रुपियाँ प्रोत्साहन भत्ता स्वरुप दिँदै आएको छ ।

यस्तै चार पटक गर्भवती जाँच गराउने महिलालाई थप ४ सय रुपियाँ दिने गरेको छ । सरकारले नै यसलाई बढाएर ठिक दोब्बर बनाएको छ ।

तीन पटकसम्म भत्ता लिन अस्पताल गए पनि पाउन नसकेको साउनमा सुत्केरी भएकी मकालु गाउँपालिकाकी कल्पना देवकोटाले बताइन् ।

“मसँगै सुत्केरी भएका अन्यले पनि भत्ता पाएका छैनन् ।”–उनले भनिन् । साउनमै सुत्केरी भएकी गीता विष्टले स्थानिय सरकारले आमाको स्वास्थ्यमा ध्यान नदिएको गुनासो गरिन् ।

प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रावधानले विपन्न समुदायका गर्भवती सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाने क्रम बढेको छ ।

साथै कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्रोत्साहन रकमले सुत्केरीको स्याहारमा सहयोग पुग्ने गरेपनि भत्ता नै नपाएपछि सुत्केरी भएका महिलाले समेत गुनासो गर्न थालेका छन् ।


बाबुराम बास्तोला