सात महिनामा ६० जना नयाँ क्षयरोग सङ्क्रमित भेट्टिए, नियमित परीक्षण र औषधि सेवन नगर्नु प्रमुख चुनौति

  ०८० चैत १५ गते

जिल्लामा चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ६० जना क्षयरोगका नयाँ बिरामी भेट्टिएका छन् । नयाँ सङ्क्रमित भेटिनुमा नियमित स्वास्थ्य परीक्षण नहुनु र बिरामीले औषधि सेवन नगर्नु प्रमुख चुनौति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष जिल्लाका बिभिन्न अस्पतालमा गरिएको परीक्षणबाट ४० जना नयाँ रोगी फेला परेका हुन्, भने अन्य २० जना बिरामी जिल्ला बाहिर गरिएको  परीक्षणबाट क्षयरोग पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाकी फोकल पर्सन योगिता खनालले बताउनु भयो ।

नयाँ सङ्क्रमितले हाल स्वास्थ्यकर्मीको रोहवरमा औषधि सेवन गरिरहेकोखनालले  बताउनु भयो । खनालका अनुसार जिल्लामा  गत आर्थिक वर्षमा १ सय २१ जना बिरामीमा क्षयरोग देखिएको थियो ।

क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । यो रोगको पहिचान भई नियमित औषधि सेवन गर्ने बिरामी रोगमुक्त हुन्छन् । यद्यपि औषधि छुटााउनेहरू, नियमित डाक्टरको सम्पर्कमा नआउने र औषधिको मात्रा नमिलेकाहरूको उपचार सम्भव नहुने स्वास्थ्यकर्मीहरूको भनाई छ ।

समुदायमा हाल पहिचान भएका भन्दा अझै बढी क्षयरोगी हुन सक्ने आँकलन गरिएको छ । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जिल्लामा क्षयरोगीको संख्या अझ बढी रहेको अनुमान गरिएपनि उनीहरू परीक्षणको दायरामा नआउनु प्रमुख चुनौतीकोरुपमा रहेको बताउनु भयो ।

भौगोलिक विकटता, जनचेतनाको अभाव लगायत थुप्रै कारण चुनौतीकोरुपमा खडा भएको भन्दै प्रमुख खनालले  गत वर्ष उपचारको दायरमा आएका बिरामीहरु सबै निको भएर घर फर्कनु उपलब्धिमुलक भएको बताउनु भयो ।

दुई साता वा सोभन्दा बढी समयसम्म खोकी लागी रहनु, साँझ ज्वरो आउनु, तौल घट्नु, खकारमा रगत देखापर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षण भएको प्रमुख खनालले बताउनु भयो ।

“क्षयरोगका लक्षण देखिएमा तुरून्तै स्वास्थ्य संस्थामा परीक्षण गरीस्वास्थ्य संस्थामा निशुल्क पाइने औषधि नियमित ६ महिनासम्म सेवन गर्नु पर्दछ भने जटिल अवस्थाका रोगीले नौ महिना वा सोभन्दा बढी समय पनि औषधी सेवन गर्नुपर्ने ।,” प्रमुख उत्तम खनालले भन्नु भयो ।


उद्धव पोखरेल