सात महिनादेखि तलब सुविधा नपाएको शिक्षकहरुको गुनासो

शैल्यशिखर नगरपालिका क्षेत्रमा भर्ना गरिएका नगरशिक्षकले सात महिनादेखि तलब नपाएको गुनासो गर्नभएको छ । नगरपालिकाले शैक्षिक सुधारको लागि भन्दै भर्ना गरिएका शिक्षकहरुले सात महिनादेखिको तलब सुविधा नपाएका हुन् ।

नगरपालिकाले प्राथमिक तह र माध्यमिक तहमा गरी कुल १ सय ३६ जना नगरशिक्षक भर्ना गरेको थियो । सात महिनादेखि आफूहरुले तलब सुविधा नपाउँदा नपाउँदा घरखर्च चलाउन नै समस्या भएको मालिकार्जुन माध्यमिक विद्यालय, आगरका शिक्षक शेरसिह भण्डारीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘विद्यालयमा ड्युटी पूरै गर्नुपर्छ । तलबकै भरमा घरपरिवार धान्नु पर्ने हामी शिक्षकले अहिलेसम्म पारश्रमिक पाएका छैनौँ । सुरुको महिना साउन भदौको तलब पाए पनि त्यसयता अहिलेसम्म कसैले तलब पाएका छैनौँ ।’

नगरपालिकाले नगर शिक्षकलाई १० हजारदेखि २८ हजार रुपियाँसम्म तलब दिएर नियुक्ति दिएको थियो । वर्षभरि काम गरेर पनि ऋण तिर्न नसकिने अवस्था आएको छ । शैक्षिक सत्रको अन्तिम समय हुँदा पनि तलब नपाउँदा घर परिवार चलाउनै समस्या भएको र तलबको लागि पटकपटक माग गर्दा पनि सुनुवाई भएको नगरशिक्षकहरुको गुनासो छ ।

नगरपालिकाको आन्तरिक श्रोतमा कमी आउँदा शिक्षकहरुको तलब पठाउन समस्या भएको  शैल्यशिखर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक बल्देव भट्टले बताउनु भयो । ‘हामीले पनि शाखाको तर्फबाट तलबको लागि धेरैपटक पत्रचार गरेका छौं,’ उहाँले भन्नु भयो, ‘तर, नगरपालिकाबाट भुक्तानी भएको छैन् ।’

शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले नगरपालिकासँग बजेट नहुँदा शिक्षकको तलब भुक्तानी गर्न नसकिएको बताउनु भयो । सुरुमा दुई महिनाको तलब भुक्तानी गरिएको भए पनि अहिले बजेट व्यवस्थापन नहुँदा शिक्षकहरुको तलब रकम भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ ।


नरेन्द्रसिह कार्की