साढे चार महिनादेखि जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही प्रभावित

जिल्ला अस्पतालका प्रमुख डेन्टल सर्जन डा. चाँदनी जैसवाल साढे चार महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभागमा काजमा रहेकी जैयसवाल हाल वैदेशिक भ्रमणमा गएकी छन् । अस्पतालमा प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कामकारवाहीमा समेत समस्या आएको जिल्ला अस्पतालले जनाएको छ ।

कार्यालय प्रमुख मात्र होइन अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. निसराज बस्नेत समेत विदा स्वीकृत नगरेरै विगत एक वर्षदेखि अमेरिका बस्दै आएका छन् गत कात्तिक महिनामा आएका उनी त्यस यता कार्यालयको दैनिक हाजिरी रजिष्टरमा पुरै हाजिर खाली छ ।

त्यस्तै मेडिकल अधिकृत डा. कृष्णजङ्ग शाह, मेडिकल अधिकृत डा. धर्मराज रेग्मी, मेडिकल अधिकृत डा. केशरजङ्ग कार्की पनि जिल्ला अस्पतालमा छैनन् । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. सुनिल पुन र डा. भुपेन्द्र प्रकाश मल्ल पनि जिल्ला बाहिर रहेका छन् ।

विभिन्न बहानामा जिल्ला छोडेका उनीहरू कोही व्यक्तिगत रूपमा एमडीको तयारीका लागि जिल्ला छाडेका हुन् भने कोही तालिमको सिलसिलामा जिल्ला बाहिर छन् । ५० सैयाको जिल्ला अस्पताल हाल स्वयम्सेवक डा. अमिन शाहको भरमा चलिरहेको छ ।

जिल्ला अस्पतालमा चिकित्सिक नभएको सम्बन्धमा सम्बन्धित निकायले ध्यान पुर्‍याउन सकेको छैन । अस्पतालमा प्रमुख नै नभएपछि अन्य डक्टर आफूखुशी जिल्ला छाडेर बाहिर जाँदा उपचार सेवा प्रभावित भएको स्थानीयबासी राजु शाक्यको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार काज फिर्ता गर्न पटकपटक पत्राचार गरी ताकेता गरेको भएपनि पहुँचको भरमा डा. जैसवाल मन्त्रालयमा काजमा बस्दै आएको र उनलाई विभागले वैदेशिक भ्रमणमा पठाएको बताए ।

मैले पटकपटक काज फिर्ताका लागि पत्राचार गरे तर सुनुवाइ भएन प्रजिअ शाहीले भने । जिल्लामा आठ जना डक्टरको दरबन्दीमा हाल कुनैपनि डा. जिल्लामा छैनन् ।

यस्तै समस्या जिल्लाका ग्रामीण भेगमा रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि छ । जिल्लाको दल्ली, लिम्सा र गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डक्टरसमेत विभिन्न बहानामा जिल्ला छाडेर अन्यत्र गएपछि ती स्वास्थ्य संस्थासमेत डक्टरविहीन बनेका छन् ।

लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सञ्जिव किरण प्रधान, गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. पवन शाक्य, दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सञ्जयकुमार यादव र डा. सञ्जय थापा विगत एक महिनादेखि जिल्ला बाहिर रहेका छन् ।

अस्पतालका निमित्त प्रमुख डा. शाहले कुन डक्टर कता गए आफूलाई जानकारी नभएको बताए । आफू यस अस्पतालमा आएको केही दिन मात्र भएको र निमित्तको जिम्मेवारी पाएको पनि धेरै दिन नभएकाले आफू यस विषयमा अनविज्ञ रहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पताल प्रमुख डा. चाँदनी जैसवाललाई काजमा राखेर स्वास्थ्य विभागले नै अस्पताल अस्तव्यस्त बनाएको आरोप लगाए । उनले काजमा रहेका डा. जैसवालको काज फिर्ता गर्न र अन्य डक्टरलाई तत्काल जिल्लामा नियमित बस्न लगाउने वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गरे ।


दिनेशकुमार श्रेष्ठ