साङ्लोले बाँधिएका युवकको उद्धारका लागि इन्सेकसँग आग्रह

  २०८१ असार ३ गते

Prabin Chaudhary (1)

शम्भुनाथ नगरपालिका-७ भगवतपुरका २२ वर्षीय प्रविण चौधरीलाई उपचार खर्चको अभावमा घरमा फलामे साङ्लो (सिक्री)ले बाँधेर राखिएको छ ।

मानसिक रोगका बिरामी चौधरीलाई उपचारका लागि अस्पताल लगिएको भएपनि रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको प्रविणकी आमा इश्वरी देवीले बताउनु भयो । इश्वरीले मानसिक रोगी छोरो गाउँ घरमा गएर उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य भएर पाँच वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको बताउनु भयो ।

प्रविण १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि बेपत्ता भएको उहाँले बताउनु भयो । कान्छो छोरा सन्तोष भने बालकै उमेरदेखि काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मानसिक रोगी र जेठो छोरा बेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ चैत २६ गते निधन भएपछि इश्वरीलाई आपतमाथि विपत आइलागेको सुनिल चौधरीले बताउनुभयो । छोराहरूको शोकमै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको छ ।

बाँधेकै स्थानमा दिसापिसाब गर्ने प्रविणलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्नुहुन्छ । छोराकै लागि बाँच्नु परेको बताउनु भएकी इश्वरी छोराकै स्याहार गर्नुपर्दा मेलापातमा जान समेत मुश्किल परेको बताउनु हुन्छ । माया लागेर एक पटक प्रविणको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछि बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको उहाँले बताउनु भयो ।
आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्नुपरेकोमा दःुखेसो पोख्दै इश्वरीले भन्नुभयो– “गरिब भएपछि आपूmले जन्माएको छोरालाई बाँधेर राख्नु परेको छ, पशु बरु चर्नका लागि बेलाबेलामा खोलिन्छन् तर प्रविणलाई खोल्न सकिदैन ।”

सम्पतीको नाममा तीन धुरमा बनेको फुसको झुप्रो छ । सोही जग्गा पनि धितो राखेर गाउँकै एक बचत सहकारी संस्थाबाट इश्वरीले ऋण सापटी लिनु भएको छ । औषधी उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागि सबैतिर सहयोग मागेर थाकेकोले उपचारको पहल गर्न इन्सेक प्रतिनिधिसँग आग्रह गर्नुभएको छ । उहाँले भन्नु भयो - “सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिन्छन् तर, मसँग पैसा छैन ।”


मनोहरकुमार पोखरेल