साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु

सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो समयदेखि साङ्लोमा बाँधेर राखेको थियो ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, राष्ट्रिय मानव अधिकार आयोग, कोकनलगायतका संस्थाको संयुक्त पहलमा विगत चार वर्षदेखि साङ्लोमा बाँधिएका सकिल र विगत सात वर्षदेखि साङ्लोमा बाँधिएका साहुलाई असोज १९ गते उद्धार गरी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको हो । अधिकारकर्मी सम्मिलित टोलीले प्रहरीकोसमेत सहयोगमा उनीहरूको उद्धार गरेको हो ।

मानसिक रोगका कारण पीडित उनीहरूको परिवारले आर्थिक अभावमा उपचार गराउन नसकेर साङलोमा बाँधेर राख्न बाध्य भएको बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेको र पीडितहरूलाई बाँधेर राखेको थाहा पाएपछि पहिले उनीहरूको अवस्था हेरेर उद्धार गरिएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले बताए । संयोजक थापाले उनीहरूको निशुल्क उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुरा गरेर त्यहाँ लगिएको जानकारी दिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनीहरूको उपचार पूर्ण रूपमा निशुल्क तथा बिरामी कुरुवाको लागि खाने बस्ने व्यवस्थासहित उपचार सुरु गरेको जनाएको छ ।

photo20161006morang photo20161006morang1 photo20161006morang2 photo20161006morang3


इन्दिरा भट्टराई