सहुलियत दरको चामल ढुवानी नहुँदा स्थानीय मर्कामा

  ०७८ मङ्सिर २३ गते

सहुलियत दरको चामल ढुवानी नहुँदा उत्तरी गोरखाका स्थानीय मर्कामा परेका छन् ।

चालु आर्थिक वर्षको झण्डै ६ महिना बित्दासम्म सहुलियत दरको चामल ढुवानी नहुँदा उत्तरी गोरखाको डिपोमा चामल रित्तिएको छ ।

चामल ढुवानीको ठेक्का प्रक्रिया शुरू नहुँदा चामल मङ्सिर तेस्रो साता सम्म ढुवानी हुन पाएको छैन ।

सहुलियत दरको चामल उपलब्ध हुन नसक्दा स्थानीयहरू महगोमा चामल किन्न बाध्य भएका छन् ।

दुर्गमका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध गराउन धार्चे गाउँपालिकाको लागि माछाखोला र चुमनुव्रीको लागि सिर्दिवास स्थित फिलिममा खाद्यका डिपो छन् ।

16 days campaignNepali

माछाखोला डिपोमा गत साउनबाट चामल छैन । फिलिमको डिपोमा भैपरी आउने आपतकालिन अवस्थाका लागि करिब १ सय क्वीन्टल चामल मौज्दात रहेको खाद्य ब्यवस्था तथा बजार कम्पनी लिमिटेड गोरखाका प्रमुख नविन बस्नेतले बताउनुभयो ।

चालु आर्थिक वर्ष माछाखोलाका लागि ५ सय र फिलिम डिपोका लागि ३५ सय क्वीन्टल कोटा स्वीकृत भएको छ ।

ठेक्का प्रक्रिया नटुङ्गिदा चामल ढुवानी गर्न नसकिएको उहाँले बताउनुभयो । असार २२ र असोज २५ मा दुई पटकको बोलपत्र स्वीकृत नभएपछि मङ्सिर १० मा तेस्रो पटक बोलपत्र आह्वान भएको वस्नेतले बताउनुभयो ।

गत वर्षको ढुवानी रेटमा १० प्रतिशत भन्दा बढी बढाउन नमिल्ने प्रावधान छ ।

गत वर्ष प्रति क्वीन्टल १६ सय ९५ मा ढुवानी दर रेटमा ठेक्का स्वीकृत भएको थियो । यो वर्ष प्रस्ताव हाल्ने ठेकेदारले २५ प्रतिशत सम्म बढाएर हाल्दा ढुवानी ठेक्का स्वीकृत नभएको कार्यालयले जनाएको छ ।

‘तेस्रो ठेक्का प्रक्रिया टुङ्गिए पनि पुस १५ अघि चामल पुर्‍ याउन सक्दैनौ ।,’–उहाँले भन्नुभयो ।

ढुवानी अनुदानमा उत्तरी गोरखामा सोना मन्सुली चामल प्रति के.जी ५२ रुपियाँ र मकवानपुर प्रति के.जी ५० रुपियाँमा स्थानीयले खरिद गर्दै आएका छन् ।

डिपो रित्तिदा बजारको चामलको भर पर्नुपर्ने बाध्यता रहेको सिर्दिवासका स्थानीय डिल वहादुर गुरुङले बताउनुभयो ।

‘गत वर्ष ढुवानी भएर मौज्दात चामल दशै अघि एक पटक वितरण भएको थियो, त्यसयता खाद्यको चामल पाएका छैनौ।’–उहाँले भन्नुभयो – ‘ढुवानी अनुदानको खाद्य चामल प्रति के.जी २० रुपियाँ सम्म सस्तो पर्थ्यो ।’

धान खेती नहुने उत्तरी क्षेत्रमा खच्चड मार्फत दैनिक उपभोग्य सामाग्री ढुवानी हुदै आएको छ ।  अघिल्ला वर्ष प्रत्येक महिनाको एक पटक कोटा अनुसार स्थानीयलाई खाद्यको डिपोबाट चामल बिक्रि हुँदै आएको थियो ।


हरिराम उप्रेती