कुहिएको चामल बिक्री, सर्वसाधारण मर्कामा

  ०७८ कात्तिक ५ गते

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले दशैँमा कुहिएको जापानिज चामल बिक्री गरेको पाइएको छ ।

शाखाको गोदामबाट असोज १४ गते यता नियमित रूपमा सिमकोटगाउँपालिका भित्रका नागरिकलाई कुहिएको चामल बिक्री गरेको ज्ञानु रोकायले बताउनुभयो ।

यसैगरी नाम्खा गाउँपालिकाले चामल खरिद गर्नुअघि जाँच गर्दा पहिलो बोरामै कुहिएको चामल भेटिएको स्थानीय छेतेन लामाले बताउनुभयो । जापानिज चामल भनेर बिक्री गरिएको बोरा भित्र अर्कै चामल परेपछि स्थानीय मर्कामा परेको लामाको भनाइ छ ।

गाउँपालिकाले दशैँमा वितरण गर्नका लागि असोज २४ गते ६५ क्विन्टल ४० किलो जापानिज र १८ क्विन्टल जिरा मसिनो चामल खरिद गरेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामाले बताउनुभयो ।

उपाध्यक्ष लामाका अनुसार खरिद गरिएको उक्त चामल पहिलो बोरामै कुहिएको भेटिएपछि थप दुईओटा बोरामा जाँच गर्दा त्यसमा फरक चामल रहेको थियो । यस्तै सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट कुहिएर डल्ला परेको चामलसमेत बिक्री गरिएको उहाँको भनाइ छ ।

Phto20211022Humla 1

‘गाउँपालिकाले बिक्री गरेको जापानिज चामल डेढ वर्षदेखि गोदाममा थन्किएर रहेको थियो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले भन्नुभयो, ‘चिसो ठाउँमा राखेको हुनाले केही बिग्रिएको होला । अरू चामल बिग्रिएको छैन ।’

कुनै व्यक्तिले लिएको चामल कुहिएको भए फिर्ता गर्न अधिकारीले आग्रह गर्नुभयो । आफू प्रमुखको जिम्मेवारीमा आएको दुई महिना भएको भन्दै उहाँले आगामि दिनमा परीक्षण परेर मात्र बिक्री गरिने बताउनुभयो ।

जिल्लामा चामलको अभाव रहेकाले स्थानीयले जस्तो चामल पनि खरिद गर्ने गरेको अधिकारकर्मीहरू बताउँछन् ।  उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बाँझबहादुर रावतले आफूले लिएको चामल पनि कुहिएको र फिर्ता गर्नको लागि कम्पनीको सिमकोट शाखामा कुरा गरेको बताउनुभयो । आगामि दिनमा कुहिएको चामल बिक्री गर्ने कार्यमा रोक लगाउन सरोकारवालाको ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खान अयोग्य चामल कतिजनाले लिएको भन्ने यकिन तथ्याङ्क नभएकोले अहिले केहि गर्न नसकिने बताउनुभयो । आगामि दिनमा कुहिएको चामल पाइए फिर्ता पठाइने वा नष्ट गरिने उहाँको भनाइ छ ।

Phto20211022Humla 2


नन्द सिंह