सहुलियतको खाद्यान्न पाउनबाट बञ्चित 

  ०७८ भदौ २७ गते

खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड अन्तरगतका सबै डिपो तथा बिक्री केन्द्रहरूमा खाद्यान्न मौज्दात शुन्य भएपछि ग्रामिण भेगका सर्वसाधारणले सहुलियत दरको खाद्यान्न पाउन सकेका छैनन ।

मुगुम कार्मारोङ गाउँपालिकाको पुलु, सोरू गाँउपालिकाको सोरूकोट डिपो, कालै बिक्री केन्द्र, खत्याड गाउँपालिकाको श्रीकोट डिपो र रातापानी बिक्री केन्द्रमा असारदेखि खाद्यान्न मौज्दात शुन्य भएपछि सर्वसाधारण मर्कामा परेका हुन ।

सहुलियतमा १ हजार चार सयदेखि देखि १ हजार पाँच सय पर्ने चामल पसलबाट प्रति ३० किलो बोराको १ हजार सात सय देखि २ हजार रूपियाँमा किनेर खानु परेको मुगुम कार्मारोङ गाउँपालिका—५ का छोर्देन लामाले बताउनु भयो ।

यस्तै डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न नपाएपछि एक घण्टा टाढा हिडेर तारापानी बजारबाट महङ्गोमा खाद्यान्न किनेर खानु परेको सोरू गाउँपालिका—९ का किर्ते नेपालीले गुनासो गर्नुभयो ।

डिपोहरूमा खाद्यान्न नभएपछि हाल सर्वसाधारणहरू सहुलियतको खाद्यान्न लिन सदरमुकाम  आउने गरेको खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड मुगुका सूचना अधिकारी पुस्कर भामले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

भामका अनुसार चालु आर्थिक वर्षमा सोरूकोट डिपोका लागि १ हजार पाँच सय, श्रीकोटमा १ हजार पाँच सय, पुलु डिपोमा १ हजार, रातापानी बिक्री केन्द्रका लागि सात सय ५० र कालै बिक्री केन्द्रका लागि २ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको थियो ।

तर ढुवानीका लागि टेण्डरको प्रक्रिया नटुङ्गिएको कारण डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न मौज्दात शुन्य भएको र केही दिनमै सबै स्थानमा खाद्यान्न पुग्ने भामले जानकारी दिनुभयो ।


जीवन सेजुवाल