सहुलियतको खाद्यान्न नहुँदा सर्वसाधारण मर्कामा

  ०७८ असोज २२ गते

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा वितरण गरिने सौलियतको खाद्यान्न अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

कम्पनीका डोल्पास्थित शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि सर्वसाधारणले महङ्गोमा खाद्यान्न किन्नु परेको छ ।

वर्षायामको कारण बजारमा बिक्रि गरिने खाद्यान्नको मुल्य महङ्गो भएको र सहुलियत दरमा ढुवानी अनुदानमा पाइने खाद्यान्न नभएपछि आफूहरूलाई मर्का परेको त्रिपुरासुन्दरी नपा–१ का राजिमान सार्कीले बताउनुभयो ।

यस्तै उपल्लो डोल्पामा गत आर्थिक वर्षको चामल समेत कोभिड–१९ को कारण ढुवानी हुन नसक्दा स्थानीयले बजारबाट तीन गुणा बढी मुल्यमा खाद्यान्न किन्नु परेको छार्काताङसोङ गाउँपालिका–४ का कार्म गुरूङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘गत वर्षदेखि नै सहुलियतको खाद्यान्न पाएका छैनौं । प्रति क्वीन्टल ५ हजार रूपियाँमा पाइने चामल १६ हजारसम्म तिर्नु परेको छ ।’

गत आर्थिक वर्षमा जिल्लाको लागि १८ हजार क्वीन्टल चामल बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले हाल दुनै शाखामा २ सय ५० क्वीन्टल र जुफाल गोदाममा २ सय ९ क्वीन्टल चामल मौज्दात रहेको जानकारी दिनुभयो ।

उक्त चामल ग्रामीण वस्तीका गरिब परिवारहरूमा र  बाढी, पहिरो लगायतका आपतकालिन अवस्थामा वितरणको लागि राखिएको पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य डोल्पाका काइके गाउँपालिकामा कामको लागि खाद्यान्न कार्यक्रम अन्तर्गत ३ सय ५० क्वीन्टल, त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा १ हजार १ सय ५० क्वीन्टल, लिकुको लागि २ सय २१ क्वीन्टल र ल्हाँ फुल्चिङको लागि २ सय २१ क्वीन्टल चामल सम्बन्धित पालिकामा पुर्‍याइएको जानकारी गराउनु भयो ।

माथिल्लो डोल्पाका सर्वसाधारण भने खाद्यान्नको अभावमा रहेको प्रमुख पाण्डेको भनाइ छ ।

चालु आर्थिक वर्षमा जिल्लाको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज र सुर्खेतबाट डोल्पा ढुवानीको लागि खोलिएको टेण्डरमा चेतबहादुर शाहीको नमूना ढुवानी सेवा तथा जनक बुढाको बिसि ढुवानी सेवा छनौट भएका छन् ।

टेण्डरको प्रक्रिया नसकिएकाले ढिला भइरहेको र जतिसक्दो चाँडो यो प्रक्रियालाई टुङ्गोमा पुर्‍याएर खाद्यान्न ढुवानी गरिने कम्पनीका डोल्पा प्रमुख पाण्डेले बताउनुभयो ।


विष्णुप्रसाद देवकोटा