सहिद परिवारसँगको सहमति कार्यान्वयन नगरेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण
कर्णाली प्रदेश प्राप्तिका लागि ज्यान गुमाएका सहिदका परिवारले तत्कालीन सरकारले सहिदका परिवारसँग गरेको सहमति पूरा नगरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रदेश प्राप्तिमा सहिद हुने चार जना सहिदका परिवारमध्ये सुर्खेतका तीन परिवारले मुख्यमन्त्री यामलाल कँडेललाई ०८१ साउन २८ गते विगतमा सहिदका परिवारलाई गर्ने सम्मान तथा जीविकोपार्जन जस्ता सहमति अहिलेसम्म पनि पूरा नगरेको भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सहिदका परिवारले तत्कालीन समयमा किरिया खर्च र सहिद घोषणाबापत १० लाख राहत प्राप्त गरेका थिए । त्यसबाहेक घरको एक सदस्यलाई रोजगारी दिने, परिवारको जीविकोपार्जनका कार्यक्रममा सहभागी गराउने, चोक तथा सडकका नाम सहिदको नामबाट नामकरण गर्ने जस्ता विषयमा प्रदेश सरकार र परिवारबिच सहमति भएको थियो तर अहिलेसम्म ती सहमति कार्यान्वयन हुन सकेका छैनन् ।
२०७२ साल सङ्घीयताको रेखाङ्कनमा कर्णालीलाई सुदूरपश्चिममा गाभिएपछि असन्तुष्ट भइ सुर्खेत, जुम्लालगायतका जिल्लामा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरको राज्य पक्षबाट चलाएको गोली लागेर मृत्यु भएको थियो । उनीहरूलाई सरकारले सहिद घोषणा गरी परिवारको शिक्षादीक्षा र भरणपोषण गर्ने प्रतिवद्धता जनाएको थियो । प्रदेश प्राप्तिको नौ वर्ष पुग्दा पनि सहिदका परिवारसँग गरिएको सहमति पूरा नभएको भन्दै परिवारजनले विभिन्न माग राख्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले तत्कालीन समयमा सहिदका परिवारसँग गरिएको सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । यस्तै स्थानीय पाठ्यक्रममा सहिदको जीवनी समावेश गर्नुपर्ने, सहिद स्मृति भवनका लागि जग्गाको व्यवस्थापन गर्नुका साथै सहिदसँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि नियमित बजेटको व्यवस्थापन गर्नुपर्ने, तत्कालीन समयमा सरकारले सहिदका परिवारसँग गरेको बाचा अनुसार सहिदको सालिक स्थापना, मुख्य नाका, पार्क, चोक तथा सडक सहिदका नामबाट नामकरण गर्नुपर्ने, कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा चारै जना सहिदको सालिकसहित सहिद गेट निर्माण गर्नुपर्ने माग गरेका छन् ।
यस्तै प्रदेश मातहतमा रहेका सबै सरकारी कार्यालयमा सहिदका तस्बिर अनिवार्य रूपमा राखी सम्मान गर्नुपर्ने, सहिदका परिवारको जीविकोपार्जनका लागि कम्तीमा एक सदस्यलाई स्थायी रोजगारीको व्यवस्थापनका साथै सहिदका परिवारका लागि शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यकीय विषयको सुनिश्चितता गर्नुपर्ने माग उनीहरूले राखेका छन् । ध्यानाकर्षणपत्रमा सहिद याम बिसीका बुबा शेरबहादुर बुढा, सहिद टीकाराम गौतमका छोरा अमृत गौतम र सहिद गोपालसिंह रजवारका छोरा दीपक रजवारले हस्ताक्षर गरेका छन् । सहिद याम बिसीकी बहिनी भगवती बिसीले प्रदेश सरकारले सहिदका परिवारसँग गरेको सहमति पालना नगरेका कारण ध्यानाकर्षणपत्र बुझाइएको बताउनु भयो ।
सहिदकै कारण छुट्टै कर्णाली प्रदेश र प्रदेश राजधानी प्राप्त गर्न सकिएको तर प्रदेश सरकारले सहिदको सम्मान नगर्न नसकेको उहाँले जिकिर गर्नुभयो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले ज्यानको आहुति दिने सहिद तथा अन्य सबै तह र तप्काको बलबाट कर्णाली प्रदेश प्राप्ति भएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले सहिदको सम्मान गर्ने र सोही अनुसार नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
जिल्लामा स्क्रब टाइफस फैलिँदै
सल्यानमा पहिलो पटक स्क्रब टाइफस फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । भदौ…
धुलिखेल–खावा सडक नबन्दा सर्वसाधरणलाई सास्ती !
धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक सम्झौताको मिति सकिएको पाँच महिना बितिसक्दा पनि निर्माण नसकिएपछि अरनिको राजमार्ग हुँदै काभ्रेपलाञ्चोककै विभिन्न स्थानीय तह, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लामा यात्रा गर्ने…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…