सहिदको अभिलेखमा नाम समावेश गर्न पहल गरीदिन इन्सेकसँग आग्रह

कालिका गाउँपालिका–३ की १९ वर्षीया देवकी ढकालको नाम सहिदको अभिलेखमा छुट भएकोले सहिदको सूचिमा नाम समावेश गर्न पहल गरिदिन मृतकका बुवा मोहनप्रसाद ढकालले चैत १० गते मकवानपुर इन्सेक जिल्ला प्रतिनिधिलाई आग्रह गर्नु भएको छ ।

सहिदको सूचिमा पुनः समावेश गर्न जिल्ला प्रशासन कार्यालयमा मोहनप्रसादले निवेदन दिए पनि  नेपाल सरकारले ०८० फागुन २४ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचिमा नाम समावेश नभएकोले समावेशको लागि पहल गरी दिन इन्सेक प्रतिनिधि हेमनाथ खतिवडालाई आग्रह गर्नु भएको हो ।

देवकी ढकाललाई तत्कालीन माओवादी आन्दोलनमा सघाएको आरोपमा नेपाली सेनाले राम्चे ब्यारेकमा तारेख लगाएर नियमित बोलाउने, कुटपिट तथा यातना दिएका कारण ०५९ कात्तिक २३ गते मृत्यु भएको थियो ।

नेपाली सेनाले राम्चे ब्यारेकमा नियमित तारेखमा बोलाएर यातना दिने क्रममा सोही दिन राम्चे ब्यारेकबाट फर्केछि देवकीको मृत्यु भएको थियो । मृतकलाई माओवादीहरूले सहिद घोषणा गरेका थिए ।

कालिका गाउँपालिका–२ कालिकास्थान बजारमा माओवादीले निर्माण गरेको सहिदद्वारमा देवकी ढकालको नाम पनि सहिदको सूचिमा समावेश छ ।

नेपाल सरकारले ०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचीमा देवकीको नाम नपरेपछि  मृतकका बुवाले जिल्ला प्रशासन कार्यालयमा ०८० जेठ १७ गते नाम छुटेकोले समावेश गराउन निवेदन दिनु भएको थियो ।

नियतबस अहिले राजपत्रमा उहाँको नाम छुटाएको भन्दै मृतकका बुवाले द्खेसो गर्नु भयो । “सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै सरकारको नेतृत्वमा हुनुहुन्छ । यही सरकारले आफ्नो छोरीको नाम सहिदको सूचिबाट हटाएपछि मनमा ठूलो चोट पुगेको छ ।” ढकालले भन्नु भयो ।

“शान्ति सम्झौतापछि पनि माओवादी अभियानमा लाग्न माओवादी कार्यकर्ताहरूले दवाव दिइरहेका थिए, उनीहरूको कुरा नमानेपछि पूर्वाग्रह राखेर नाम हटाएका हुन् ।, ” ढकाले थप्नु भयो ।

सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिलाई नेपाल सरकारले विभिन्न समयमा सहिद घोषणा गर्दै आएको छ । ०७९ फागुन १५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल सरकारले ०७९ फागुन २९ गते राजपत्रमा सहिदको नाम प्रकाशन गर्दा देवकीको नाम समावेश नभएको ढकालले जानकारी दिनुभयो ।

सरकारले ०८० पुस २४ मा निर्णय गरी ०८० फागुन २४ गते नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप २ हजार ६ सय ७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको थियो ।


हेमनाथ खतिवडा