सहादत प्राप्त गर्ने १ सय ४७ परिवारलाई राहत रकम उपलब्ध

  ०८० वैशाख २९ गते

जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलन र जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम १ सय ५१ जनामध्ये १ सय ४७ परिवारले बुझेका छन् ।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम बमोजिम जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलन र जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारले राहत रकम बुझेका छन् ।

१ सय ५१ जनाले निवेदन दिएकामध्ये १ सय ४७ जनाले रकम बुझेको र चार जनाले रकम बुझ्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कुलमणि दाहालले जनही १ लाखका दरले १ करोड ४७ लाख रुपियाँ पीडित परिवारलाई राहत स्वरूप भुक्तानी गरिएको बताउनु भयो ।

‘निवेदन दिएकामध्ये अब चार जनाले राहत रकम बुझ्न बाँकी रहेको सुब्बा दाहालले बताउनु भयो । कागजात दाखिल गरेलगत्तै बैङ्कबाट भुक्तानी हुने सुविधा छ ।’

मेरिङ्देन गाउँपालिका–५ का निमलासाङ शेर्पा, वडा–३ का रामकुमार चोङवाङ, मिक्वाखोला गाउँपालिका–३ का लाक्पा शेर्पा र वडा–५ का उदितप्रेरी मदेनछङले रकम बुझ्न बाँकी दाहालको भनाइ छ । ०८० जेठको १५ गतेभित्र भुक्तानी गरी प्रदेशमा परिपत्र गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने कार्यविधि,२०७९ मा व्यवस्था भएअनुसार कोशी प्रदेशमा बसोबास गर्नेलाई राहत दिने बारे ०७९ पुस ९ गतेदेखि ३० दिनको अवधिसहितको सूचना प्रकाशन गरिएको थियो ।

५८ जना महिला र ९३ जना पुरूष गरी १ सय ५१ जनाले निवेदन दिएका थिए ।


देवराज गुरुङ