सशस्त्र प्रहरी र स्थानीयबीच झडप, दुई सर्वसाधारण र एक प्रहरी घाइते

कवहीगोठ गाविस-८ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना भएको विषयमा स्थानीयहरूबीच भएको छलफलको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका सशस्त्र प्रहरी र गाउँलेबीच साउन २६ गते झडप भएको छ ।

झडपको क्रममा प्रहरीको कुटाइबाट कवहीगोठ गाविस-८ का २८ वर्षीय मन्जय साह कानुको अनुहारमा चोट लागेको छ भने सोही ठाउँका ५५ वर्षीय रामक्षेत्री पण्डीत कुम्हालको टाउकोमा चोट लागेको छ । घाइते उनीहरूको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भएको छ ।

विद्यालयको रकम हिनामिना गरेको भनिएको विषयमा छलफल हुँदा विवाद भएपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको स्थानीय मुकेश प्रजापतिले बताए ।

त्यसैगरी झडपका क्रममा गाउँलेहरूको ढुङ्गा प्रहारबाट तेलकुँवा बेस क्याम्पका ३८ वर्षीय सशस्त्र प्रहरी इन्स्पेक्टर तेजबहादुर ठकुरीलाई छाती र टाउकोमा चोट लागेको छ । उनको पनि स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार गरिएको प्रहरीले जनाएको छ ।


लक्ष्मीसाह सोनार