सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था सार्वजनिक नहुँदा पीडित परिवार विस्थापित

तातोपानी सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी बलद्वारा ०७१ चैत ११ गते बेपत्ता बनाएका हगाम गाविस-७ घर भई तातोपानी गाविसमा मजदुरी गरी बस्ने २० वर्षीय कुमार तामाङको हालसम्म अवस्था सार्वजनिक नहुँदा पीडितकी पत्नी डोल्मा तामाङ र उनकी दुई वर्षीया छोरी गाउँबाट विस्थापित भएका छन् ।

घर परिवार र गाउँलेहरूको नराम्रो व्यवाहार गरेका कारण डोल्मा र उनकी छोरी घरमा बस्न नसकेर ०७३ वैशाखदेखि लिस्ती गाविसस्थित माइतीघरमा विस्थापित भएका हुन् । पतिलाई बेपत्ता बनाएपछि १३ महिनासम्म घरमा बस्दा परिवारका अन्य सदस्यले 'पतिको मृत्यु'को कारण तैँ होस भनेर आफूलाई आरोप लगाएपछि घरमा बस्न नसकेको डोल्माले गुनानसो गरिन् ।

बेपत्ता बनाइनु अघि कुमार र उनकी पत्नी तातोपानी बजारमा भारी बोक्ने काम गरेर परिवारको गुजारा चलाइरहेका थिए । ०७१ चैत ११ गते बेलुका आफ्नै कोठामा बसिरहेको बेला तातोपानीस्थित सशस्त्र प्रहरी बलको टोलीले कुमारलाई गिरफ्तार गरी लगेको थियो । त्यतिबेला उनलाई खाना पकाउने ग्याँसको सिलिण्डर चीनको खासातर्फ पैठारी गरेको आरोप लगाइएको थियो ।

सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेको पतिलाई भेट्न उनकी पत्नी डोल्मा ०७१ चैत १३ गते दिउँसो सशस्त्र प्रहरीको कार्यालयमा जाँदा उनले पतिलाई भेट गर्न नपाएपछि बेपत्ता बनाएको आशङ्का गरेकी थिइन् ।

राज्यका तर्फबाट बेपत्ता बनाइएका आफन्तको अवस्था सार्वजनिक गराउन माग गर्दै पीडितपक्षले विभिन्न समयमा विभिन्न ठाउँमा जुलुस प्रदर्शन, धर्ना, सडक अवरुद्ध पार्नेलगायत आन्दोलनका कार्यक्रमसमेत गरेका थिए ।

पीडित पक्षको आन्दोलन मत्थर गर्न विभिन्न समयमा सरकारी निकाय, साँसद र पीडितपक्ष सहितको त्रिपक्षीय वार्ता र छलफलसमेत गरिएको थियो । त्रिपक्षीय वार्ता र छलफलमा सरकारी निकाय र जनप्रतिनिधिहरूले बेपत्ता पारिएका कुमारको अवस्था जसरी पनि र्सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

बेपत्ता पारिएका कुमारको अवस्था पत्ता लगाउन जिल्ला स्तरमा तत्कालीन साहायक प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानबिन समिति बनेको थियो । उक्त समितिले उल्लेखनीय काम गर्न नसकेपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाका तत्कालीन डीआइजी नवराज सिलवालको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो । सो समितिले आफ्नो प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको भनिएको छ । तर, सो प्रतिवेदन हालसम्म र्सार्वजनिक नगरिएको पीडितका दाजु छिरिङ तामाङले बताए ।

राज्यको तर्फबाट सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी बलबाट मजदुरी गरी बसेका सर्वसाधरण नागरिकलाई बेपत्ता बनाइएको घटनाको अवस्था सार्वजनिक नगराउनु, घटनाबाट उत्पन्न भएको अवस्थाले पीडितलाई थप पीडामा बस्न बाध्य बनाउनुले राज्यमा शान्ति सुरक्षको कुनै प्रत्याभूति नभएको र पीडितले न्याय नपाउने अवस्था रहेको स्पष्ट भएको पीडित डोल्माले बताइन् ।


नातिबावु धिताल