सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित

  ०७६ कात्तिक २७ गते

सशस्त्र द्वन्द्वको समयमा बम विष्फोटमा परेका भूमे गाउँपालिका–२ काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन् ।

२०६३ माघ महिनामा उनका ठूलो बुबाको छोरा रुपचन्द्र दमाईको घरमा बम विष्फोट हुँदा कौशीमामा लुगा सिलाइरहेका दमाई भूँईमा बेहोस भएका थिए ।

उक्त घटनापछि मानसिक सन्तुलन गुमाएका दमाईको उपचारपछि पनि समान्य अवस्थामा आउन सकेनन् ।

आर्थिक अभावका कारण उपचार हुन नसकेपछि मानसिक अवस्था बिग्रँदै गएपछि सात वर्षदेखि हातमा साङ्लोले बाँधेर राखेको छ ।

गाउँमा मान्छेलाई कुटपिट गर्ने गरेपछि उनको हात साङ्लोले बाँधिएको सात वर्ष भएको स्थानीयले बताए । हात बाँधेदेखि अहिलेसम्म हिँड्डुल पनि गरेका छैनन्  ।

भूमे गाउँपालिका–२ का स्थानीय पृथीबहादुर बुढा मगरका अनुसार द्वन्द्वका समयमा तत्कालीन माओवादीले लुकाई राखेको अवस्थामा आफैँ विष्फोट भएको थियो ।

विष्फोटमा उनका भाइ रुपचन्द्र र बुहारी आइती दमाई को मृत्यु भएको थियो । विष्फोट हुँदा लुगा सिलाइरहेका सिङबहादुर बार्दलीबाट तल खसेदेखि समस्या आएको थियो ।

दमाईकी ६४ वर्षीया आमा देमुले साँझ बिहान जसोतसो खाना जोहो गर्दै आएकी छन् । ‘सिङबहादुर आफ्नो घरको बार्दलीमा लुगा सिइरहेका थिए । भाइको घरसँगै नजिक रहेकाले बम विष्फोट हुँदा उक्त बार्दलीबाट खसेका हुन् । त्यस घटनाले अचेत अवस्थामा पुगे ।’–आमा देमुले भनिन् ।

घटनाको एक वर्षपछि उनकी पत्नी अर्कै विवाह गरेर गएपछि खुवाउने स्याहार्नेलगायतका काम आमाले गर्दै आएकी छन् ।

‘छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ । सुत्ने लुगा पनि छैनन् । अनि लगाउने कपडा पनि छैनन् ।’– छोरालाई हेर्दै देमुले भनिन्–‘बूढेसकाल लाग्यो केही गर्न सक्दिनँ । सरकारले केही उपाय गरे हुने थियो ।’

आमाले शरण लिएर बसेको घरबाट छोरालाई खाना पुर्‍याउने आधा घण्टाको समय लाग्छ । दमाईले बसेकै ठाउँमा दिसापिसाब गर्दछन् ।  घरको सबै सम्पत्ति बेचेर छोरालाई भैरहवा र बुटवल अस्पतालमा उपचार गराएको आमाले बताइन् ।

‘८–९ लाख रुपियाँ खर्च गरेँ तर सञ्चो हुन सकेन । उपचारको क्रममा खर्च मात्र भयो ।’–आमाले भनिन्–‘अहिले त सम्पत्तिको नाममा भत्केको घर र सानो खेत मात्र छ ।’

उनले अहिलेसम्म नेपाल सरकारबाट कुनै किसिमको राहत पाएका छैनन् । नेपाल सरकारले द्वन्द्वपीडितलाई राहत दिने कुरा पहिले जानकारी नभएको र पछि थाहा पाएर निवेदन दिए पनि उपचार गरेका कागजात ल्याउनु भनेपछि आफूसँग नभएकाले केही प्रक्रिया अगाडि नबढेको देमुले बताइन् ।

जिल्ला प्रशासन कार्यालयले साविकको रुकुम जिल्ला हुँदा निवेदन दिएको भएपनि नयाँ जिल्ला भएका कारण कुनै तथ्याङ्क नभएको र पीडितले निवेदन दिए प्रक्रिया अघि बढाउने जनाएको छ ।


जयमान बुढा मगर