सशस्त्र द्वन्द्वका घाउहरू पुरिएका छैनन्ः अध्यक्ष शर्मा

  ०७५ वैशाख २४ गते

सशस्त्र द्वन्द्वका घाउहरू अझै पुरिन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् ।

मल्लरानि गाउँपालिका-४ मा निर्माण गरिएको शान्ति स्मारकाको वैशाख २३ गते अनावरण गर्दै आयोगका अध्यक्ष शर्माले सो धारणा व्यक्त गरेका हुन । अनावरण कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष शर्माले अहिले द्वन्द्वका मुद्दा उठान गर्नु भन्दा सङ्क्रमणकालीन न्यायको मुद्दा उठाउनु पर्ने सुझाव दिए ।

उनले द्वन्द्वको घाउ पुर्नका लागि शान्ति स्मारक निर्माण गरिएको बताए । सामाजिक, आर्थिक असमानता, जातीय छुवाछुतलगायतका कारणले द्वन्द्व भएको बताउँदै आयोग अध्यक्ष शर्माले शान्ति स्मारक निर्माणले परिवारमा आत्मसन्तुष्टि दिलाउने बताए ।

प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले द्वन्द्वको अन्त्य भएपनि द्वन्द्वको घाउ अझै बढीरहेको र द्वन्द्वमा परेका व्यक्तिहरूको सम्झनामा जिल्लामा शान्ति स्मारक निर्माण कार्य सम्पन्न गरेको बताए ।

१ सय १८ जना मृतक र आठ जना बेपत्ता व्यक्तिहरूको नाम शान्ति स्मारकमा लेखिएको छ । हरप्लेसको ४ लाख रुपियाँ, मल्लरनी गाउँपालिकाको १ लाख रुपियाँ र अन्य चन्दादाताबाट ५५ हजार ९ सय ५५ रुपियाँ गरी जम्मा ५ लाख ५५ हजार ९ सय ५५ रुपियाँको लागतमा स्मारक निर्माण गरिएको हरप्लेसका जिल्ला कार्यक्रम संयोजक पम्फा पन्तले जानकारी दिइन् ।


रविन्द्र पाण्डे