सर्वोच्चको आदेशप्रति परिवारको असुन्तुष्टि, गाउँमा ‘त्रास’

  ०८० पुस २२ गते

अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहनुभएका विद्यार्थी नेता चेतन अयडीको हत्या अभियोगमा गिरफ्तार गरी पुर्पक्षका लागि कारागारमा राखिएका ६ जना आरोपितहरु सर्वोच्चको आदेशमा साधारण तारिखमा रिहा भएपछि पीडित परिवारले असुन्तुष्टि जाहेर गर्नुको साथै गाउँमा त्रास उत्पन्न भएको बताउनु भएको छ ।

हत्या घटनामा प्रत्येक्ष संलग्न व्यक्तिहरुलाई सर्वोच्च अदालले साधारण तारिखमा रिहा गरेपछि आफूहरु थप त्रसित भएको र सर्वोच्चले साधार तारिखमा रिहा गरेका व्यक्तिहरु घटनामा संलग्न भएको भिडिओमा नै देखिएका मृतकका बुबा गगन अयडीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘छोराको हत्यामा संलग्न १४ / १५ जना व्यक्तिको भिडियो क्लीप पेन ड्राइभमा राखेर हाम्रा पक्षका वकिल मार्फत सर्वोच्चको इजलासमा न्यायाधीशलाई दिइयो । तर, उहाँहरुले हेर्न मान्नु भएन । प्रमाण पेश गर्ने अवसर समेत दिइएन् । सर्वोच्चको आदेशले द्धन्द्ध भड्काउने काम गरेको छ । अब चुप लागेर बस्ने अवस्था छैन् । अब हुने सम्भावित क्षतिको जिम्मेवारी राज्यले लिन पर्छ ।’

सर्वोच्च अदालतको निर्णयप्रति सामाजिक सञ्जाल लगायत चौतर्फी विरोध भइरहेको छ । कानुनी शासनमाथि विश्वास गरेर न्यायको लडाई लडिरहेका बेला सर्वोच्च अदालतले दिएको आदेशले चिन्तित् र भयभित बनाएको मृतकका भाई मिलन अयडीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–‘घरभित्रैबाट तानेर मेरो दाजुको क्रुर तरिकाले हत्या भयो । हत्यामा संलग्न भएको भिडिओमा देखिने व्यक्तिहरु साधार तारेखमा सर्वोच्चको आदेशमा रिहा भए । यो फैसलाले गाउँमा डर र त्रास फैलिएको छ । अदालतप्रति अविश्वास सृजना गराएको छ ।’

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले ०८० पुस १९ गते चेतन अयडी हत्या घटनाका आरोपित त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, बिनोदबहादुर अयडी, भूपाल अयडी, रनसिंहबहादुर अयडी र अछाम कारागारमा रहेनुभएकी रुपा चौधरी अयडीलाई साधार तारिखमा रिहा गर्न र धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्रै थुनामा राख्नु पर्ने आदेश दिएको थियो ।

जिल्ला अदातल, बाजुराले २०७९ पुस ५ गते  र उच्च अदालत, दिपायले साउन २५ गते जिल्ला अदालतको आशेर सदर गर्दै घटनाका ११ जना आरोपितलाई पुर्पक्षमा राख्न्न आदेश दिएको भए पनि सर्वोच्च अदालतको आदेशपश्चात पुर्पक्षका लागि जिल्ला कारागार, बाजुरामा रहेका वडाध्यक्ष जुद्धबहादुर अयडीसहित पाँच जना र जिल्ला कारागार, अछाममा रहेकी रुपा चौधरी अयडीलाई ०८० पुस २० गते साधारण तारिखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका डीएसपी कबिन्द्र बोहराले बताउनु भयो ।

चेतन अयडी हत्याकाण्डका २४ जना आरोपितहरुका विरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएकोमा प्रहरीले ११ जनालाई गिरफ्तार गरेको थियो ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका क्रममा २०७९ मङ्सिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादलाई लिएर अयडीमाथि कुटपिट गरिएपछि उहाँको मृत्यु भएको थियो । विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउदा कांग्रेस कार्यकर्ता सञ्जित अयडीको समेत मृत्यु भएको थियो । उक्त घटनाको इन्सेकले पनि स्थलगत अध्ययन गरेको थियो ।


पदमबहादुर सिंह