सर्वोच्चको आदेशपछि प्रहरीद्वारा पौडेल हत्याको उजुरी दर्ता

  ०७८ असोज २१ गते

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका–२ का ४७ वर्षीय कुमार पौडेलको ०७६ असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका–१ स्थित लखनदेही नजिकैको जङ्गलमा प्रहरीसँग भएको ‘मुठभेड’मा मृत्य भएको विषयमा मृतककी आमा दुर्गादेवी पौडेलले दिएको उजुरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि असोज २० गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको छ ।

‘छोरालाई गैरकानुनी रूपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत उजुरी दर्ता प्रक्रिया अघि बढाउन खोजी रहेको थिएँ । प्रहरीले उजुरी नलिएपछि हुलाकमार्फत पठाएको थिएँ । त्यो पनि दर्ता नभएपछि अदालतमा मुद्दा हालेकोमा अदालतले उजुरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले दर्ता ग¥यो ।’–दुर्गादेवीले भन्नु भयो ।

असोज १४ गते सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले कुमार पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिएको उजुरी दर्ता गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि असोज २० गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

किटानी उजुरीमा आरोप लगाइएकाहरूः

  • सर्लाही जिल्लाका तत्कालीन प्रमुख अधिकारी कृष्णबहादुर राउत
  • जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराई
  • प्रदेश २ प्रहरी कार्यालय जनकपुरका तत्कालीन डिआइजी हरिबहादुर पाल
  • इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन इन्स्पेक्टर किरणप्रसाद न्यौपाने
  • इलाका प्रहरी कार्यालय नवलपुरका तत्कालीन सई सुर्यकुमार कार्की
  • जिल्ला अस्पताल सर्लाही मलङ्गवाका तत्कालीन डा. वीरेन्द्रकुमार मण्डल
  • तत्कालीन प्रहरी महानिरीक्षकबाट खटाइएका प्रहरी हवल्दार सत्यनारायण मिश्र
  • तत्कालीन प्रहरी महानिरीक्षकबाट खटाइएका प्रहरी हवल्दार बिनोद साह
  • तत्कालीन प्रहरी महानिरीक्षकबाट खटाइएका (०७६ असार ५ गतेका दिन सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही जङ्गल नजिक भएको घटनामा मुख्य सुटर) इन्स्पेक्टर कृष्णदेवप्रसाद साह
  • बागमती नगरपालिका–११ बागमती निवासी (हाल बागमती नगरपालिकाका मेयर) ४८ वर्षीय भरतकुमार थापालगायत १० जना
  • तत्कालीन गृहमन्त्री रामबहादुर थापा
  • तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनाल

यस घटनाको अध्ययन गरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले ०७६ साउन ७ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।


बुधन साह