सर्वहाराको बन्दले गरी खाने वर्ग भोकै !
चिर्तुङ्धारा-७ घोरबन्दाकी २७ वर्षीया रेवन्ती कुमाल कात्तिक २८ गते बिहान झिसमिसेमै काम खोज्दै सदरमुकाम तानसेन आइपुगिन् । एक घण्टा पैदल हिँडेर सदरमुकाम तानसेन आइपुगेकी उनले अघिल्ला दिनहरूमा झै भारी बोक्ने काम नपाएपछि ९ बजेतिर निराश भएर रित्तै घर फर्किइन् । भारी बोकेरै २ छोराछोरी र पतिसहित परिवारको गुजारा चलाउँदै आएकी उनले निराश हुँदै भनिन्-'बन्दले म जस्ता काम गरेर छाक टार्नेहरूको पेट भोकै हुने भयो ।'
महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण रेवन्ती जस्तै भारी बोकेर परिवारको गुजारा चलाउने गरीखाने वर्ग निराश भए ।
तानसेनमै २५ वर्षदेखि भारी बोकेरै ५ जनाको गुजारा चलाउँदै आएका जल्पा-३ मैदानका ५३ वर्षीय कुलबहादुर लाम्काहाको पनि दुखेसो उस्तै छ । बिहान छिप्पिँदासम्म पनि उनले केही काम पाएनन् । 'महिनामा १ हजार ६ सय कोठाभाडा तिर्नुपर्छ । खानुपर्यो । लाउनुपर्यो । बिहान कमायो साँझ खाँदा ठिक्क हुने हाम्रो परिवारमा आज साँझ के खाने भन्ने चिन्ता सुरु भइसक्यो ।'-लाम्काहाले भने । लाम्काहालाई कसले केका लागि बन्द आह्वान गरेका हुन् भन्नेसम्म पनि थाहा छैन । 'बन्दकै कारण अब रित्तो हात कोठामा फर्कनु पर्यो ।'-उनले भने ।
चिर्तुङ्धारा-७ घोरबन्दाकै २८ वर्षीया दानीसरा कुमाललाई पनि बन्दले निराश बनायो । भारी बोकेरै तीन जनाको गुजारा चलाउँदै आएकी दानीसराले भनिन्-'बन्दले भारी बोकेर हात मुख जोर्नेहरूलाई सबैभन्दा बढी समस्या परेको छ ।'
घोरबन्दाकै २१ वर्षीया रुपा कुमालले पनि बन्दले काम नपाउँदा रित्तो हात घर फर्कन परेकोमा दुखेसो पोखिन् । 'खान लाउन मनग्गे भएकाहरूलाई त केही समस्या छैन । हामी जस्ता काम गरेर परिवार चलाउनेहरूलाई त समस्या भयो नि !'-रुपाले भनिन् ।
जिल्ला सदरमुकाम तानसेनमा मात्रै २ सय भन्दा बढी भरियाले गुजारा चलाउने गरेको उनीहरू बताउँछन् । यहाँ भारी बोक्नकै लागि चिर्तुङ्धारा गाविसको घोरबन्दा गाउँबाट मात्रै ६० जना भन्दा बढी महिला पुरुषहरू दैनिक आउने गरेको उनीहरूको भनाइ छ ।
नवलपरासी घर भई २२ वर्षदेखि तानसेनमै भरियाको काम गरेर ६ जनाको परिवारको गुजारा चलाउँदै आएका ५३ वर्षीय रामजी चौधरीले पनि बन्दले आफूलाई दुःखी बनाएको बताए । '२/४ सय भएपनि घरमा बढी पठाउन पाइयोस् भनेर म अर्काको घरको पेटीमा सुत्छु । बन्दले दिनभरि काम पाईँदैन आखिर आजको दिन आम्दानी हुने भएन खर्च मात्रै हुने भयो ।'-चौधरीले भने । जे माग गर्नुपरे पनि बन्द गर्ने गर्दा आफू जस्ता दुःख गरेर परिवारका गुजारा चलाउनेहरू सबैभन्दा अप्ठेरोमा पर्ने गरेको चौधरीको अनुभव छ । उनले भने-'हुनेले त खाइहाल्छन् । हामी पेटीमा सुतेर चिसो रात काट्नेहरू चाँहि सधै अप्ठेरोमा पर्छौँ ।'
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…