सर्वदलीय बैठक बस्न नसक्दा मतगणना सुरु हुन सकेन

  ०८० वैशाख ११ गते

चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सर्वदलीय बैठक बस्न नसक्दा मतगणना सुरु हुन सकेको छैन ।

सबै बुथको मतपेटिका राती १२ बजे अघि नै गणना स्थलमा ल्याइसकेको तर दलहरूबीच बैठक नबसेकाले मतगणना हुन नसकेको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले बताउनु भयो ।

वैशाख १० गते मतदानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषयमा निर्वाचन अधिकृतको कार्यालयले कुनै निर्णय नलिएसम्म मतगणनामा भाग नलिने नेपाली कांग्रेसले अडान लिएपछि बैठक बस्न सकेको छैन ।

कांग्रेस चितवन सचिव ध्रवराज पोखरेलले नेपाली कांग्रेसको तर्फबाट आफूले दिएको निर्वाचन आचारसंहितासम्बन्धी निवेदन उपर छलफल भएपछि मात्र सर्वदलीय बैठकमा भाग लिएर मतगणनाका लागि अघि बढ्ने बताउनु भयो ।


दिपेन्द्र अधिकारी