सर्लाहीको बरहथवामा गोली लागी मृत्यु घटनाको स्थलगत अनुगमन

WhatsApp Image 2024-01-10 at 18.55.46_7c927264

बरहथवा नगरपालिका–५ मा सुरक्षाकर्मी र प्रदर्शकारी बीच ०८० पुस २० गते झडप हुँदा प्रहरीको गोली लागी बरहथवा नगरपालिका–६ बस्ने २६ वर्षीय जय शंकर साहको मृत्यु घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीले पुस २५ गते स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।

बरहथवा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा बरहथवा नगरपालिकाकासँग विवाद हुँदा काँग्रेस लगायतका दलका कार्याकर्ताहरूले बरहथवा नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पना कुमारी कटवालको घरमा ढुङ्गामुढा तथा आगजनी प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरी बीच पुस २० गते झडप भएको हो ।

सर्लाही होटेल एण्ड पार्टी प्यालेश देखि उत्तर तर्फ रहेको गोदम (कुखुराहरुको दान राख्ने स्थान) मा जान लागेको जय शंकर साहलाई बरहथवा नगरपालिका–५ स्थित विधुत प्राधिकरण कार्यालयको पश्चिमतर्फ रहेको बाटोको पुलमा प्रहरीले चलाएको गोली लागी मृत्यु भएको मृतकका दाजु मोहन साहले अनुगमन टोलीलाई बताउनु भयो ।

विरोध प्रर्दशमा सहभागी नभएका साहलाई प्रहरीले गोली हानी हत्या गरेको र प्रहरी प्रशासन, राजनीतिक दल र पीडित परिवारको प्रतिनिधिहरु बीच पुस २२ गते लिखित ११ बुँदे सहमति भए पश्चात सो स्थानबाट शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको र पोष्टमार्टम पछि शव पाएको पीडित परिवारले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा पुस २२ गते घटनाको विषयमा सर्वदलीय बैठक बसीरहेको बेला प्रहरीले मृतक साहको आमा, भाइ तथा पीडित परिवार र स्थानीयलाई घरभित्र प्रवेश गरी कुटपिट गरेको र मृतकसमेत सञ्चालक रहेको सर्लाही होटल तथा पार्टी प्यालेशको शिशि टिभि तथा झ्यालका शिशाहरुसमेत तोडफोड गरिदिएको मृतकका भन्जा विवेक कुमार साहले बताउनु भयो ।

बरहथवा नगरपालिकाका नगर प्रमुख कटुवालको घरमा आगजनी तथा तोडफोड गर्न पुगेका प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा केहि राउण्ड आश्रु ग्याँसको सेल र ११ राउण्ड गोली फायर भएको इलाका प्रहरी कार्याल्य बरहथवाले जनाएको छ ।

नगर प्रमुख कटुवालको घर देखि करिव ५ सय मिटरको दुरीमा दक्षिणतर्फ रहेको विधुत प्राविधिकरण कार्यालयको पश्चिम बाटोको पुलमा जय शंकर साह मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बानियाले अनुगमन टोलीलाई जानकारी दिनु भयो ।

त्यसै गरी, पुस २० गते भएको झडपमा ११ जना प्रहरी र पुस २२ गते भएको झडपमा १९ जना प्रहरी घाइते भएको इन्स्पेक्टर बानियाले बताउनु भयो । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल मलंगवामा र घाइतेमध्ये असई दुखन यादवको उपचार विरगंज नेशनल हस्पिटलमा गराई थप उपचारका लागी काठमाँडौ लगिएको इन्स्पेक्टर बानियाले जानकारी दिनु भयो ।

अस्पतालको विषयमा पुस २० गते सर्वदलीय बैठक बोलाइएको तर बैठकमा अनावश्यक भिड बढाएर नगरपालिका कार्यालय र मेरो नीजि निवासमा ढुङ्गामुढा गरिएको नगर प्रमुख कटुवालले बताउनु भयो । बैठक बसेर समस्याको समाधान गर्ने विषयमा नेपाली काँग्रेसका तर्फबाट मधेश प्रदेशका स्वास्थ्य मन्त्री रहनु भएको वीरेन्द्र कुमार सिंहसँग समेत कुराकानी भएको तर नगरपालिका बाहिरबाट नचिनिने मानिसहरु बोलाई नगरपालिकामाथि ढुङ्गामुढा गराइएको र मेरो घरमा समेत ढुङ्गामुढा तथा आगजनी प्रयास गरिएको बरहथवा नगरपालिकाका नगर प्रमुख कटवालले जानकारी दिनु भयो ।

प्रर्दशनकारीहरुले मैले चढेको चार चक्का गाडिमा तोडफोड गर्नुका साथै वडा अध्यक्ष चढने चार चक्का गाडी समेत जलाइएको नगरपालिकाका नगर प्रमुख कटवालले बताउनु भयो । जय शंकर शाहको मत्यु दुःखद घटना हो र यस घटनाको निश्पक्ष रुपले छानविन गरिनु पर्ने नगर प्रमुख कटवालको भनाइ रहेको छ ।

गृह मन्त्रालयले पुस २१ गते घटनाको छानविनका लागि तीन सदस्य छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको संयोजकमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहने गरी छानविन समिति गठन गरिएको छ । समितिलाई घटनाको बारे सत्य तथ्य पता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाको स्थलगत अध्ययन, अनुगमन, घटनाका सन्दर्भमा पीडित परिवार, स्थानीय र सरोकारवाला निकायका प्रतिनिधिहरुसँग भेटघाट गरि घटनाको बारेमा जानकारी लिने कार्य भइरहेको इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

WhatsApp Image 2024-01-10 at 23.11.33_6e91ea3b WhatsApp Image 2024-01-10 at 23.11.10_8ef13d90  WhatsApp Image 2024-01-10 at 16.33.20_1261d002 WhatsApp Image 2024-01-10 at 16.33.19_a1f953ac WhatsApp Image 2024-01-10 at 16.33.16_f8277ca8 WhatsApp Image 2024-01-10 at 23.11.34_9d6fce46 WhatsApp Image 2024-01-10 at 23.11.34_b3ab13f9


बुधन साह