सरकार र आरती साहका परिवारबीच सहमति

मिथिला विहारी नगरपालिका–३ घर भई जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक बस्ने २३ वर्षीया आरती साहको हत्या घटनाका आरोपितलाई कारबाहीको माग गर्दै ०८० असार १ गतेदेखि आन्दोलनरत पीडित परिवार र नेपाल सरकार, गृह मन्त्रालयबीच ०८० फागुन २९ गते ५ बुँदे सहमति भएको छ ।

आन्दोलनरत पीडित पक्ष र नेपाल सरकार, गृह मन्त्रालयबीच; आरती साह हत्या घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने, पीडित परिवरसँगको समन्वयमा अनुसन्धान गर्ने र ४५ दिन भित्र सोको प्रतिवेदन पेश गर्ने, अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुन बमोजिम पुनः अभियोजन समेत गर्ने, पीडित परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने र पीडित परिवारले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने सहमति भएको हो ।

सहमति पत्रमा नेपाल सरकार, गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गर्नु भएको छ । त्यस्तै, पीडित पक्षको तर्फबाट मृतकका आमा निर्मला देवी साह, दाजु प्रेम साह र मामा सन्तोषकुमार साहले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

आरती साहलाई पति ३२ वर्षीय मोतीवावु साह र ससुरा ७० वर्षीय मदनमोहन साहले दाइजोका कारण ०८० जेठ ७ गते हत्या गरेको पीडित परिवारको आरोप छ । आरतीका परिवार घटनाको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्दै काठमाडौँमा आन्दोलनरत थिए ।


इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम