सरकारी भवनहरु अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या

लमजुङमा रहेका सरकारी भवनहरु अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या पर्ने गरेको छ ।

कानुनमा अपाङ्गमैत्री भवन हुनुपर्ने प्रावधान रहेपनि सम्बन्धित निकायले बेवास्ता गर्दा लमजुङमा रहेका सरकारी भवन तथा कार्यालयहरु अपाङ्गमैत्री हुन नसक्दा यहाँका अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा लिन समस्या हुने गरेको हो ।

प्रत्येक सरकारी कार्यालय तथा भवन, बाटोहरु अपाङ्गमैत्री हुनुपर्ने २०७४ को मुलुकी प्रावधान रहेतापनि यहाँका सरकारी कार्यालय अझै अपाङ्गमैत्री हुन नसक्दा समस्या हुने गरेको छ । यहाँ रहेका पुराना सरकारी कार्यालय मात्रै होइन नयाँ निर्माण भएका सरकारी कार्यालयहरु समेत अपाङ्गमैत्री छैनन् । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, जिल्ला मालपोत, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग, जिल्लामा रहेका स्थानीय तह लगायत दर्जनौ सरकारी कार्यालय अपाङ्गमैत्री हुन सकेको छैन ।

सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई कामकाजले जादा कष्टकर हुने गरेको अपाङ्गता संरक्षण समाज लमजुङका सचिव सिताराम बसेलले बताउनुभयो । उहाँले भन्नुभयो, संविधानमा समेत छ, तर व्यवहारिक ऐन कानुन लागु भएन । त्यस्तै पहुँच युक्त पूर्वाधारको विकास, दोभासे प्रत्येक कार्यालयमा राख्नुपर्ने प्रावधान रहेपनि त्यो पनि रहेको पाइदैन । अपाङ्गमैत्री भवन नभएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई निकै समस्या हुने गरेको बसेलले बताउनुभयो ।

जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको लागि विभिन्न कार्यक्रम गर्दै आवाज पनि उठाउँदै आएपनि सम्बन्धित निकायले सुनेको नसुनै गर्दै आएकाले नयाँ बनेका सरकारी भवनहरु समेत अपाङ्गमैत्री नभएको अपाङ्गता संरक्षण समाज लमजुङले जनाएको छ ।

अपाङ्गता संरक्षण समाज लमजुङले २०७२ मा गरेको सर्वेक्षणमा अपाङ्गता भएका व्यक्तिको पहिचानका आधारमा लमजुङमा ४ हजार ७ सय ३४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।


सुमित्रा भुजेल