सरकारी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा नागरिकहरू नीजिमा उपचार गर्न बाध्य

  ०८० वैशाख २१ गते

भानु नगरपालिका–४ तिलाहारका ४५ वर्षीय राजु विक वैशाख २१ गते बिहान उच्च रक्तचाप सम्बन्धी समस्याबाट पीडित हुनु भयो । उहाँलाई आफन्तले तत्कालै वडा नम्बर ५ मा रहेको पुरनडिही नगर अस्पतालमा लगे । तर उक्त सरकारी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई नजिकैको नीजि मेडिकल हलमा लगेर उपचार गराए ।

भानु नगरपालिकाले नगर स्तरीय अस्पतालको रूपमा बिकास गरेको पुरनडिही अस्पतालमा आकस्मिक सेवा सञ्चालन नहुँदा बिरामीहरू मारमा पर्दै आएका छन् । राजु मात्र हैन, अन्य विरामीहरूले पनि सँधै यस्तै समस्या भोग्नु परेको भानु नगरपालिका–४ का राजेश पन्थले बताउनु भयो । पन्थले आकस्मिक सेवा सञ्चालनको लागि पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताउनु भयो ।

भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले आवश्यक जनशक्ति र उपकरण नहुँदा उक्त अस्पतालमा आकस्मिक सेवा सञ्चालन गर्न नसकिएको बताउनु भयो । उक्त अस्पतालमा एक जना एमबिबिएस डाक्टर कार्यरत रहेपनि आकस्मिक सेवा सञ्चालन नहुँदा उहाँ भानु नगरपालिका–२ को घरबाट नै १० देखी ५ बजे को कार्यालय समयमा आउने जाने गरेको भट्टराईले बताउनु भयो ।

उक्त अस्पतालमा ६ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको हुँदा दुई जना महिला स्वास्थ्यकर्मी भने अस्पतालकै निवासमा बस्ने गरेका छन् ।

भानु नगरपालिका मेयर आनन्दराज त्रिपाठीले नगरपालिकाको कार्यपालिका बैठकले उक्त अस्पतालमा आकस्मिक सेवा सञ्चालन गर्ने निर्णय गरिसकेको बताउनु भयो । तर आकस्मिक सेवाको लागि आवश्यक उपकरण, जनशक्ति र स्वास्थ्यकर्मी बस्ने निवास नभएको हुँदा आकस्मिक सेवा सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ ।

मेयर त्रिपाठीले चाँडै नै बजेट व्यवस्था गरेर उपकरण र आवश्यक जनशक्तिको व्यवस्थापन गरिने बताउनु भयो ।

birami raju bk lai upachar ka lagi lagidai


प्रकाशचन्द्र भट्टराई