सम्बन्धविच्छेदका घटनामा बृद्धिः बालबालिकामा नकारात्मक असर
जिल्लामा सम्बन्धविच्छेदका घटना बढेसँगै पारिवारिक बिखण्डन र बालबालिकामा नकारात्मक असर परेको पाइएको छ ।
सम्बन्धविच्छेदका कारण पतिपत्नी अलग्गिएपछि उहाँहरुबाट जन्मिएका बालबालिकाहरुले राम्रो लालनपालन, खानलाउन, समयमा शिक्षा, स्वास्थ्य तथा सुरक्षा नपाउदा मनोवैज्ञानिक असरबाट प्रभावित हुने गरका छन् ।
घरेलु हिंसाका कारण परिवारमा उत्पन्न आन्तरिक कलहका कारण छोराछोरीहरु घरबाट भाग्ने, लागुऔषध दुव्र्यसनीमा फस्ने, श्रम शोषणमा पर्ने, बिभिन्न बालबिज्याँई लगायतका समस्यामा पर्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।
लम्कीचुहा नगरपालिका–७ प्रतापपुरका ३५ वर्षीय भक्तबहादुर बुढामगरसँग १४ वर्षको उमेरमा २०६२ सालमा आफूले प्रेम विवाह गरेको भए पनि आन्तरिक कलहका कारण एक छोरीसहित माइतीको शरणमा बसेर सम्बन्धविच्छेदको मुद्दा दर्ता गरी छोरीको लालनपालन, शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि संघर्ष गरिरहेको ३२ वर्षीया खिमाकुमारी घर्तीमगरले गुनासो गर्नु भयो ।
कैलारी गाउँपालिका–४ के गाउँकी २३ वर्षीया मन्धरीकुमारी ठकुल्लाले २४ वर्षीय खगेन्द्र ठकुल्लासँग २०७४ सालमा १७ वर्षको उमेरमा आफूले प्रेम विवाह गरेको भए पनि पतिको दिनहुको यातना सहन नसकेर सम्बन्धविच्छेदको मुद्दा दर्ता गरी माइती घरमा बस्दै आएकोले चार वर्षीया छोरीको हेरचाह, लालनपालन र स्वास्थ्य उपचारमा समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘छोरीलाई लिएर गइस् भने मारीदिन्छु भनेर धम्की दिने गरिएको छ । अहिले एक्लै माइती घरमा बस्दै आइकी छु । छोरी लिन घरमा जान नसक्ने अवस्था छ । हामी दुई जनाको असमझदारीका कारण छोरीको बिचल्ली भएको छ ।’
गोदावरी नगरपालिका–५ गेटाकी ३४ वर्षीया धनाकुमारी देउवाले ४१ वर्षीय पति मानबहादुर खडकासँंगको असमझदारीका कारण २०७९ पुस १७ गते जिल्ला अदालत, कैलालीमा सम्बन्धविच्छेदको मुद्दा दता गरेको बताउनु भयो ।
पतिबाट अलग्गिएर १५ वर्र्षीय छोरा र १३ वर्षीया छोरीलाई आफूसंगै राखेर बसिरहँदा पतिले छोराछोरी आफूसँग राख्ने दबाव पटकपटक दिइरहने हुँदा छोराछोरीमा मानसिक तनाव हुने र पढाईमा समेत असर परिरहेको धनाकुमारीले बताउनु भयो ।
टिकापुर नगरपालिका–१ का ३६ वर्षीय खगेन्द्र कठायतसँग प्रेमविवाह गरेको भए पनि पतिले जातीय बिभेद गर्दै खानलाउन नदिएर दिनहु मानसिक यातना दिने गरेकाले सहन नसकी सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको टिकापुर नगरपालिका–१ की ३४ वर्षीया सिता चौधरील बताउनु भयो । सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेदेखि १० वर्षीया छोरीको संरक्षण तथा लालनपालनमा समस्या उत्पन्न भएको उहाँले गुनासो गर्नु भयो ।
जिल्ला अदालतका तहशिलदार नेत्रबहादुर माझीले सम्बन्धविच्छेदका कारण परिवार बिखण्डन हुनुका साथै सम्बन्धविच्छेद गरिएका आमाबुवाको बालबालिकामा प्रत्यक्ष मनोवैज्ञानिक असर पर्नुका साथै बच्चाहरु घर छोडेर हिड्ने, बालश्रम शोषणमा पर्ने, बालबिज्याँईमा संलग्न हुने र लागुपदार्थ दुव्र्यशनीमा फस्ने गरेको बताउनु भयो ।
कैलाली जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद लेखकले सम्बन्धविच्छेद गर्न महिला पुरुष दुवै आउने गरेकाले उहाँहरुबाट जन्मिएका बच्चाहरुमा नकरात्मक सोचको विकास हुन गएर समस्या उत्पन्न भएको बताउनु भयो ।
कानुनी सहायता समितिका संयोजक अधिवक्ता देवीलाल चौधरीले सम्बन्धविच्छेदको मुख्य कारण बाल विवाह, अन्तरजातीय विवाह र प्रेम विवाह रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो—‘पतिपत्नी मिलेर बस्न नसक्ने वातावरण भएपछि आवेगमा आएर सम्बन्धविच्छेद गर्न पुग्छन् । जसको करण बालबालिकाहरु सानै उमेरमा आमाबुवाबाट छुट्टीनु पर्दा प्रत्यक्ष मनोवैज्ञानिक असर परेको हुन्छ् ।’
एडभोकेसी फोरमका संयोजक अधिवक्ता पुष्पविक्रम शाहीले सम्बन्धविच्छेदका कारण बालबालिकालाई जन्म दर्ता, नागरिकता तथा अंशमा हकदाबी गर्न कानुनी समस्या हुने गरेको बताउनु भयो ।
कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधीमा १ हजार ६ सय १८ ओटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । सम्बन्धविच्छेद मुद्दा दर्ता गर्ने मध्ये १ हजार ५९ महिला र ५ सय ५९ पुरुष रहेका छन् ।
जिल्ला अदालत, कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७ / ०७८ मा १ सय ५३ महिला र १ सय ५२ पुरुष गरी ३ सय ५ जना, आर्थिक वर्ष २०७८ / ०७९ मा ४ सय ७६ महिला र २ सय २७ पुरुष गरी ७ सय ३ जना र आर्थिक वर्ष २०७९ / ०८० मा ४ सय ३० महिला र १ सय ८० पुरुष गरी ६ सय १० जनाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…