समान कामको समान ज्याला नपाएको महिला श्रमिकहरुको गुनासो

जिल्लाका अधिकांश क्षेत्रमा समान काममा महिला र पुरुषको ज्यालामा विभेद गरिएको श्रमिक महिलाहरुले गुनासो गर्नुभएको छ । आफूहरुले पुरुषहरु सरह नै समान श्रम गर्दै आएको भए पनि समान ज्याला नपाएको श्रमिक महिलाहरुले गुनासो गर्नुभएको हो ।

घर, पुल, सडक, बाटो निमार्णलगायतका कार्यमा पुरुष श्रमिक सहर कार्य गर्दै आएको भए पनि ज्याला रकम समान रुपमा पाउन नसकेको अमरगढी नगरपालिका–२ काँडेकोटकी राधा भण्डारीले गुनासो गर्नु भयो । परुष र महिलाले गर्ने काम समान भए पनि ज्याला फरकफरक दिनेगरिएको उहाँको भनाइ छ ।

गैटी र बेल्चा चलाउने काम पुरूष र महिलाहरुले गर्ने गरेको भए पनि ज्याला दिदा पुरूषलाई १ हजार रुपियाँ र महिलालाई ६ सय रुपियाँ मात्रै दिने गरेको अमरगढी नगरपालिका–३ की नरपता सेटीले गुनासो गर्नु भयो ।

दिनभरी पुरूषहरूसँगै उस्तै प्रकृतिको काम गर्छौं । तर, ज्याला दिदा विभेद गरिन्छ,’ उहाँले भन्नु भयो, ‘ज्यालामा विभेद भयो भन्दा तिमीहरू पुरूष जति काम गर्न सक्छौँ ? भनेर धम्की दिने गरिएको छ । बढी बोले काम गर्न नआउनु भनेर महिलाई धम्की दिने गरिएको छ ।’

अमरगढी नगरपालिका–७ दुमडाकी लक्ष्मी टमटाको पीडा पनि उस्तै छ । बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म काम गर्दा पनि ६ सय मात्र दिने गरेको उहाँले बताउनु भयो ।

उहाँ भन्नु हुन्छ, ‘दिनभरी पुरुषहरु सरह काम गरे पनि ज्याला दिदा पुरुषको भन्दा महिलाहरुलाई कम दिने गरिएको छ । पुरुषको तुलानामा हामी महिलाले मेहनत र इमान्दारीताका साथ श्रम गर्छौँ । तर, ज्यालामा भने विभेद कायमै छ । ’

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले ज्यालामा विभेद भएको कुरा आफू कहाँ पनि आउने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यो समस्या जताततै छ । सरकारले तोके बमोजिमको ज्याला श्रमिकले पाउने वातावरण बनाउनका लागि हामी पहल गछौँ ।’

समान कामका लागि समान ज्याला पाउने कानुनी व्यवस्था भए पनि अहिलेसम्म महिला श्रमिकले समान काममा समान ज्याला पाउन नसकेको भनेर उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले बताउनु भयो ।

समान कामका लागि समान ज्याला नपाएको भनेर श्रमिक महिलाहरुले उजुरी दिएको खण्डमा कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओझाको भनाइ छ ।

संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १८ मा समानताको हक अन्तर्गत (उपधारा ४) मा समान कामका लागि लिङ्गका आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको अवस्था जिल्लामा विद्यमान रहेको छ ।


शेरबहादुर भण्डारी