समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द सूचीबाट ५ सय ५० जनाको नाम हटाउने आयोगको निर्णय

  ०७९ कात्तिक ८ गते

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द सूचीबाट ५ सय ५० जनाको नाम हटाउने निर्णय गरेको छ । जसमा प्रतिनिधि सभा तर्फ २ सय ३ जना र प्रदेश सभा तर्फ ४ सय ४७ जना रहेका छन् ।

आयोगले ०७९ कात्तिक ८ गते एक विज्ञप्ति प्रकाशन गरी समानुपातिकतर्फ दलले पेश गरेको बन्द सूचीमा समावेश भएका तर, निर्वाचन कानून तथा आचारसंहिता उल्लङ्घनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका, लाभको पदमा रहेका र कालोसूचिमा रहेका एक एक जना गरी जम्मा ५ सय ५० जनाको नाम हटाउने निर्णय गरेको हो ।

निर्वाचन कार्यक्रम निर्धारण भई उक्त कार्यक्रम बमोजिम दलबाट उम्मेदवारको बन्द सूची पेश भई उक्त बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारको सम्बन्धमा परेको दाबी विरोध माथि जाँचबुझ गरी कानून बमोजिम अयोग्य देखिएका उम्मेदवारको नाम सूचीबाट हटाएको आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्थानीय निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्च नबुझाएका र तोकिएको समयभित्र जरिवाना नबुझाएका ३ सय ६९ जनाको नाम बन्द सूचिबाट हटाइएको उल्लेख गरिएको छ ।

साथै दोहोरो उम्मेदवारी परेका ६६ जन, महिला पुरुषको विवरण फरक परेका ३७  जना, मतदाता नामावलीमा नाम नभएका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका १८ जना, आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि बन्द सूचीबाट हटाएको आयोगले सार्वजनिक गरेको सूचिमा उल्लेख गरिएको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा