समाचार सङ्कलन गर्दै गरेका पत्रकारलाई प्रहरीद्वारा कुटपिट

  ०८१ कात्तिक २० गते

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकले कात्तिक २० गते पोखरामा गरेको प्रदर्शनको समाचार सङ्कलन गर्न पुगेका कान्तिपुरकर्मी इन्द्रप्रसाद पौडेल र पब्लिक फोरके टेलिभिजनका राजकुमार माझीलाई प्रहरीले कुटपिट गरेको पीडित पत्रकार पौडेलले बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले कुटपिट घटनाको विषयमा विज्ञप्ति निकालेर भत्सर्ना गरेको छ । कुटपिटबाट सामान्य घाइते भएका पत्रकारद्वय सामान्य उपचारपछि आआफ्नो दैनिकीमा फर्किएका छन् ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री तथा सांसद रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट गिरफ्तार गरी पोखरामा ल्याएपछि रास्वपका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीले कात्तिक २० गते वाइचोकको निषेधित क्षेत्र समेत तोडेका थिए ।

कात्तिक २० गते जिल्ला अदालत कास्कीले लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न १० दिन म्याद थप गरेको छ ।


सञ्जय रानाभाट