समाचार लेखेको आरोपमा पत्रकारलाई मार्ने धम्की

१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको विषयमा समाचार लेखेको भन्दै आरोपितका परिवारले नेपाल पत्रकार महासङ्घ रसुवाकी महिला उपाध्यक्ष कालिका गाउँपालिका–३ की २५ वर्षीया अनु आचार्यलाई पुस १ गते मार्ने धम्की दिएका छन् ।

नयाँ पत्रिका दैनिक र रेडियो रसुवामा  कार्यरत आचार्यले पुस १ गते लेखेको समाचारको आधारमा कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी तथा उनको परिवारका सदस्यहरूले फोनबाट धम्की दिएको पत्रकार आचार्यले बताउनुभयो ।

विदेशी बालिकालाई मङ्सिर २८ गते कालिका गाउँपालिका–२ का २९ वर्षीय सुनिल पौडेलले कालिका गाउँपालिका–२ स्थित फनफनकाली होटल नजिक जङ्गलमा घुम्ने क्रममा यौन दुर्व्यवहार गरेको घटनाको समाचार लेखेको विषयमा अपशब्दले गाली गरेको पीडित पत्रकारले बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष जस्तो ब्यक्तिबाट ‘तँ पत्रकार होस् कि पत्रुकार होस् र बलात्कारी बनाउने तँ नै होस्’ भनेर गालीगलौज गरेको पत्रकार आचार्यले बताउनुभयो ।

त्यस्तै उनका भाइ रमेश पौडेलले कतारबाट टेलिफोन गरेर जे पनि गर्न सक्छु भन्ने धम्की दिएको पनि पीडित पत्रकारले बताउनुभयो ।

‘बलात्कारी बनाउने तँ को होस् ? लोभलालचमा किन समाचार लेखिस् ? हामीलाई किन बदनाम गरिस् ? मैले चाहेँ भने तँलाई जे पनि गर्न सक्छु भन्दै मार्ने धम्की आयो ।’–आचार्यले भन्नुभयो । आरोपितको पत्नी, आमा र गाउँपालिका अध्यक्षको छोरीले समेत फोनमा धम्क्याएको पीडितको भनाइ छ ।


हेमनाथ खतविडा