समाचार प्रभावः वडा कार्यालयको सक्रियतामा सर्वपक्षीय बैठक

नीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४, १२ र २ का उपभोक्ताले खाने पानीको समस्या भोगिरहेको विषयमा इन्सेक अनलाइनमा समाचार प्रकाशनपछि वडा कार्यालय र उपभोक्ताको सक्रियतामा ०८१ जेठ ४ गते सर्वपक्षीय बैठक राखेको सम्पन्न भएको छ  ।

धादिङबेसी खानेपानी उपभोक्ता समितिको विवादपछि अदालतमा मुद्दा परेर निर्णय नभएको, सहलगानी कोषको ठेक्कामा ठेकेदारले ढिलासुस्ती गरेको, मुहानबाट ल्याएको पानी चुहावट भएपछि धादिङबेसी बजार क्षेत्रमा खानेपानी आउन छाडेको हो ।

पानी नपाएका ३ हजार १० उपभोक्ताले अनेकन समस्या भोगिरहेको र पुछारबजार क्षेत्र, सिपानी क्षेत्र, साङकोषको केही क्षेत्रमा लामो समयदेखि धारामा पानी आउन छाडेकोले समस्या समाधान गर्नका लागि उपभोक्ताहरूको दवावमा वडाले सर्वपक्षीय बैठक गरेकोले समस्या समाधान गर्न आफै जागरण थालेको पीडित उपभोक्ता सावित्री कँडेलले बताउनु भयो ।

स्थानीय राजनीतिक दल, उपभोक्ता र विवादित दुई  उपभोक्ता समिति समेतको सहभागितामा नीलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४ र १२ का वडा अध्यक्ष सहभागी थिए ।

७ सय ५० घरलाई भनेर हालिएको पाईपलाइनबाट बजारमा वितरण गर्दा पानी मुहानमा ठुलो भएपनि अभाव भएको विवादमा परेको उपभोक्ता समिति कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनु भयो ।

२०७१ सालमा गणेशकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको उपभोक्ता समितिलाई ३ वर्ष अघि नगरपालिकाले विघटन गरि राजेन्द्र अधिकारीलाई ०७७ कात्तिक २१ गते अध्यक्ष बनाएको थियो ।

नगरपालिकाले बनाएको समिति वैधानिक कानुन विपरित भएको भन्दै विघटित समितिको तर्फबाट कोषाध्यक्ष हरीबहादुर श्रेष्ठको अगुवाइमा उच्च अदालत दायर मुद्दामा ०७७ मङ्सिर १४ गते  नगरपालिकाको कात्तिक २१ गतेको निर्णय कार्यान्वयन नगर्नु भन्ने स्टे अर्डर गरेपछि खानेपानी विवाद बढेपछि उपभोक्ता समस्यामा परेको हो ।

इन्सेक अनलाईनमा ०८१ जेठ २ गते “सदरमुकाममा दुई महिनादेखि खाने पानीको अभाव“ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

उपभोक्ताको दवाव र समाचार प्रकाशनले गर्दा समस्या समाधान गर्न आयोजना गरिएको सर्वपक्षीय बैठकले नीलकण्ठ नगरपालिका –३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा खानेपानी समस्या समाधान सरोकार समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्षहरू वडा नम्बर २ का ध्वजबहादुर गुरुङ, वडा नम्बर ४ का हरिबहादुर श्रेष्ठ, वडा नम्बर १२ का राजकुमार भण्डारी सहित उपभोक्ताहरू समितिमा राखिएको छ । समितिले जेठ महिनाभित्र नगरपालिकासँग समन्वय गरि ठेकेदारलाई लगाएर वा बैकल्पिक व्वस्था गरेर खानेपानी व्यवस्थापन गर्ने, कानुनी परामर्श गरि उपभोक्ता भेला गर्ने जिम्मा दिएको छ ।

सहलगानी कोषले २९ करोड ४० लाख रूपियाँ ठेक्कामा काम गर्न सगुन कन्स्ट्रक्सनले गरेको काम समय सकिन लाग्दा पनि २२ प्रतिशतमात्र काम गरेर ढिलाई गरिरहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो ।


सीताराम अधिकारी