समाचारको प्रभावः इन्सेक लगायत मानव अधिकारकर्मीको पहलमा बिनु यादवले तोड्नुभयो अनशन

जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा अनशन बस्नु भएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवले इन्सेक लगायत मानव अधिकारकर्मीको पहलमा अनशन तोड्नु भएको छ ।

यादवका पति प्रदीप कठायतले घरमा बस्न नदिएको भन्दै घरमा बस्ने वातावरण बनाई पाउँ भनि ०८० माघ ७ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि आमरण अनशन बस्नु भएको थियो ।

मन्थली नगरपालिका-१, भैसेसुर स्थित पतिको घरमा जाँदा पस्न नदिएको भनि बिनु यादव घरमा बस्ने वातावरण बनाई पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा पुग्नु भएको थियो । बिनु यादवका पति प्रदीप कठायतले जिल्ला अदालत रामेछापमा हालेको सम्बन्ध विच्छेदको मुद्दा कठायतको पक्षमा आएपछि बिनुले पुनरावेदन गर्नुभएको थियो । पुनरावेदन अदालतले सम्बन्ध विच्छेद नहुने फैसला गरेपछि कठायतले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुग्नु भएको छ ।

सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म उच्च अदालतको फैसलाबाट आफू कठायत परिवारको बुहारी भएकोले घरमा बस्न पाउनु पर्ने भन्दै बिनु गत काठायतको भैसेसुर स्थिति घरमा पुग्नु भएको थियो । तर त्यहाँ पस्न नदिएपछि यादव शान्तिपूर्ण रूपमा घरमा बस्ने वातावरण गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कार्यालयको तर्फबाट जनप्रतिनिधि सहित कठायत परिवारलाई राखेर पटक पटक छलफल गराउँदा पनि बिनुलाई घरमा बस्न दिन तयार नभएपछि बिनु कार्यालयको गेटमा नै अनशन बस्दै आउनुभएको थियो । अदालतमा विचाराधीन मुद्दा भएकोले अदालतको आदेश नआएसम्म प्रशासनले बल प्रयोग गरेर घरमा राख्ने अवस्था नभएको कार्यालयले जनाएको थियो । कठायत परिवारले अदालते बिनुलाई मासिक ९ हजार रुपियाँ दिने फैसला गरेकोले सो रकम दिने तर घरमा बस्न नदिने अडान राख्दै आएको थियो ।

समस्या समाधान नहुने भए सोही बेहोराको पत्र जिल्ला प्रशासन कार्यालयले दिनु पर्ने माग बिनुको थियो । कार्यालयले माघ ९ गते र माघ ११ गते दुई ओटा पत्र दिए पनि बिनुले आफूले माग गरेको बेहोरा ती पत्रमा नखुलेको भन्दै अनशन तोड्न अस्वीकार गर्नुभएको थियो ।

इन्सेक अनलाईनमा ०८० माघ ११ गते 'कमजोर बन्दै छ अनशन बस्नुभएकी बिनु यादवको स्वास्थ्य' शीर्षकमा समाचार प्रकाशित भएपछि सहयोग उपलब्ध गराइएको थियो । समाचारमा प्रकाशन भएपछि रेडक्रस रामेछापका सभापति शिवकुमार कार्की, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ र इन्सेक जिल्ला प्रतिनिधिको पहलमा जिल्ला प्रशासन कार्यालयले बिनुको माग अनुसारको छोटो बेहोरा खुलाएर पत्र दिने र बिनुले सो पत्र बुझ्न तयार भएपछि बिनु अनशन तोड्न तयार हुनुभएको थियो । यादवलाई नेपाल रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिवकुमार कार्कीले जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

अनशन तोड्नु भएकी यादवलाई मानव अधिकारकर्मीले साँझ नै स्वास्थ्य जाँचका लागि मन्थली नगर अस्पताल लैजानु भएको थियो । उहाँको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले जानकारी दिनुभयो ।

Photo_080-10-15_Ramechhap


नवराज घिमिरे